काठमाडौं- जर्मनीमा बस्ने कुमार पन्त गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा निर्वाचित भएका छन् ।
एनआरएनएको ९ औं महाधिवेशनबाट कुल आचार्यलाइ पराजित गर्दै पन्त अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उनले सन् २०२१ सम्म संघको नेतृत्व गर्नेछन् । २० वर्ष अगाडि युरोप छिरेका कुमार पन्तले युरोपका विभिन्न देशका करिब एक दर्जन तारे होटलमा लगानी गरेका छन् ।
कामदारबाट मालिक
त्रिभुवन विश्व विद्यालयबाट समाजशास्त्रमा स्नातक गरेका पन्त अध्ययनका क्रममा पहिलोपटक ग्रीसको एथेन्स पुगेका थिए ।
युरोप जाँदा बुवाले दिएको एक हजार युरो सकिएर बेखर्ची बनेपछि भान्दाइको सहयोगमा जर्मनी छिरेका कुमारले होटल व्यवसायमा एकपछि अर्को सफलता हासिल गरे ।
जर्मनीमा एक कोरियन रेष्टुरेन्टमा काम शुरु गरेका पन्त ८ महिनामै म्यानेजर बने। तर, उनलाई आफ्नो पढाईको चिन्ताले सताइरहेको थियो ।
होटेल मालिकसँगको समझदारीमा उनले अध्ययन गर्ने अवसर पनि पाए । चार वर्ष उक्त रेष्टुरेन्टमा काम गरेपछि पन्तले आफ्नै होटेल सञ्चालन गर्ने सोच बनाए ।
होटेलका लागि बल्लतल्ल पाएको घरको मासिक भाडा पाँच हजार युरो थियो । उनले साथीभाईसँग सापटी लिएर ९० हजार युरो जम्मा गरे तर उक्त रकम भवनको रंगरोगनमै सकियो ।
अरु केही सीप नलागेपछि उनी पुरानै कोरियन साहुलाई गुहार्न पुगे । कुमारको मेहनत र इमान्दारीबाट प्रभावित ती मालिकले झण्डै डेढ लाख युरोका सामान आफैं जमानी बसेर मिलाइदिए ।
त्यसपछि फ्रयांकफर्टमा खुल्यो द एभरेष्ट होटेल । अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल नजिकै रहेको उक्त होटेल सधैँजसो प्याक हुन थाल्यो । पन्तको व्यवसाय फल्दै फुल्दै गयो ।
१३ वर्ष अगाडि सन् २००६ मा खुलेको द एभरेस्ट होटेलसंगै पन्तले लगानी गरेका तारे होटलको संख्या युरोपमा मात्र १० पुगेको छ ।
बर्लिन, ज्यूरिचसम्म होटल सञ्चालनमा ल्याइसकेका पन्त अब अमेरिकामा पनि होटेल सञ्चालनमा ल्याउने तयारीमा छन् ।
अहिले पन्त र एनआरएनएका पूर्व अध्यक्ष जिवा लामिछानेको साझेदारीमा यूरोपका विभिन्न शहरमा होटेल विस्तार भएका छन् ।
फुजेलबाट फ्र्यांकफर्ट
गोर्खा फुजेलमा जन्मेका ४३ वर्षीय पन्तले विद्यालय तहको शिक्षा गाउँकै विद्यालयबाट पूरा गरे ।
०५० सालमा काठमाडौंको रत्नराज्य क्याम्पसमा पत्रकारितामा स्नातक अध्ययन गदैगर्दा उनी ग्रिस पुगेका थिए ।
त्यसबेला १ हजार युरो बोकेर एकहजार माइलको यात्रा गरेका कुमारको व्यवसायक एक दिनको मुनाफामात्रै लाखौं हुन्छ ।
सन् २००४ मा एनआरएनएमा संलग्न भएका उनी सन् २००९–२०११ मा एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य भए । सन् २०१३–२०१५ मा एनआरएनएका महासचिव र त्यसपछिको दुई कार्यकाल उनी एनआरएनएको उपाध्यक्षको जिम्मेवारीमा थिए ।
नेपालमा लगानी भित्र्याउन, नेपाल बाहिर रहेका करिब ७० लाख श्रमीकको हक हितका लागि काम गर्न आफू सधैँ सक्रिय रहने उनले बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४