काठमाडौंं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई मन्त्री फेरबदलका विषयमा नसोध्न आग्रह गरेका छन् ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले यो प्रधानमन्त्रीको विषय भएको भन्दै आफूलाई नसोध्न आग्रह गरेका हुन् ।
पत्रकारले प्रश्न गरेका थिए ‘सरकार फेरबदलको कुरा के हो ?’, प्रचण्डले भने ‘यो प्रश्न मलाई नसोध्दिए हुन्थ्यो भन्ने लाग्छ, यसमा ओलीजीले जे चाहनुहुन्छ त्यही हुन्छ।’
‘तपाईँ पनि त पार्टीको अध्यक्ष हो नि’ भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने, ‘हो म पनि अध्यक्ष हुँ, मन्त्री फेर्दा पक्कै मलाई सोधिन्छ होला तर अहिलेसम्म हामीबीच त्यस्तो कुनै छलफल र चर्चा भएको छैन।’
उनका अनुसार मन्त्री फेरबदलका बारेमा पार्टीमा कुनै छलफल नै भएको छैन् । उनले बाहिर चर्चा भएजस्तो मन्त्री फेरबदलका विषयमा कुनै तयारी पनि नभएको स्पष्ट पारे ।
प्रचण्डले भने ‘यति जना मन्त्री फेरिने भए रे, यी यी आउन थाले रे भनेर व्यापक हल्ला फैलिएको छ त्यसमा कुनै सत्यता छैन, हामीले त्यस्तो कुनै चर्चा गरेका छैनौँ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४