काठमाडौं- स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवले स्वास्थ्यकर्मीहरुलाई राजनीतिक पार्टीबाट टाढा रहन आग्रह गरेका छन्।
विश्व ट्रमा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री यादवले कर्मचारी समायोजनको विषयमा केन्द्रमै बस्न केही स्वास्थ्यकर्मीले पार्टीको सहयोग लिएको भन्दै त्यस्ता हर्कत नगर्न आग्रह गरे।
राज्यमन्त्री यादवले भने, ‘राजनीतिक पार्टीले समायोजन वा पोष्टिङ गर्ने होइन त्यसैले राजनीतिक पार्टीबाट टाढै रहनुस्।’
कार्यक्रममा आकस्मिक उपचारको मुख्य केन्द्र ट्रमा सेन्टरमा आवश्यक उपकरणहरु नभएको ट्रमा सेन्टरका निमित्त निर्देशक प्रमोद कुमार यादवले बताए।
उनले सेन्टरमा भिआइपी कक्ष, क्याविन, आईसियुको अपर्याप्तता भएको जानकारी गराए।
जवाफमा राज्यमन्त्री यादवले सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने आश्वासन दिए।
उनले प्रत्येक स्थानीय तहमा स्वास्थ्य सेवा विस्तार गर्ने क्रममा ट्रमाको समस्या समाधानमा ढिलाई भएको बताउँदै ट्रमा सेन्टरलाई आवश्यक पर्ने उपकरणको व्यवस्था गर्ने आश्वाशन दिए।
कार्यक्रममा स्वास्थ्य सचिब खगराज बरालले वीर अस्पतालको भीभीआईपी कक्ष छोडेको घर जस्तै भएको बताए।
वर्षौँसम्म भीभीआईपी कक्षमा कोही पनि उपचारको लागि नपुग्नु दुःखद भएको भन्दै ट्रमा सेन्टरलाई सुविधासम्पन्न बनाउन जरुरी रहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४