बीबीसीले बुधबार सार्वजनिक गरेको १०० प्रेरणादायी एवम् प्रभावशाली महिलाहरुको सूचीमा नेपालकी बोनिता शर्मा परेकी छन् ।
महिला सशक्तिकरण र पोषणका क्षेत्रमा उनले गरेको कामको कदर गर्दै शर्मालाई विश्वका प्रेरणादायी महिलाको सूचीमा राखिएको हो ।
बीबीसीले प्रत्येक वर्ष परिवर्तनका लागि काम गरेका आ–आफ्नो क्षेत्रमा सफल विश्वका १०० महिलाहरुको सूची सार्वजनिक गर्दै आएको छ ।

सूचीमा परेकी शर्माले कुपोषणबाट बालबालिकालाई बचाउन ‘पोषणमाला’ निर्माण गरेकी छन् । हातमा लगाउने उक्त मालाले आमाहरुले आफ्ना बालबालिकालाई कतिबेला के खुवाउने भन्ने जानकारी दिन्छ ।
मालामा रहेका फरक फरक अंक र रंग भएका दानाले बेग्लाबेग्लै पोषणयुक्त खानालाई संकेत गर्छन् । सेतो रङले आमाको दूध, खैरोले अन्न तथा कन्दमूल, पहेंलोले दाल, गेडागुडी र बदाम, हरियोले साग र फलफूल र निलोले पशुपंक्षीजन्य खानेकुराको संकेत गर्छन् ।
सोचाईले किशोरीहरुलाई महिनाबारी बारे जानकारी दिने अर्को माला पनि बनाएको छ ।
पोषण मालाले युनिसेफको ‘एसिया प्यासिफिक युथ च्यालेन्ज– २०१६’ पुरस्कार पनि जितेको छ ।
जनस्वास्थ्यमा स्नातक र पोषणमा स्नातकोत्तर अध्ययन् गरेकी २६ वर्षीया शर्माले अन्य तीन साथीसँग मिलेर द सोशल चेन्जमेकर एण्ड इनोभेटर (सोचाई) नामको संस्था खोलेकी छन् ।
समुदायका गर्भवती र सुत्केरी महिला र शिशुमा कुपोषणको समस्या देखिएपछि माला तयार पारेको उनी बताउँछिन् । विभिन्न अंक र रंगका दानाको हातमा लगाउने उक्त मालाले बच्चालाई कुन उमेरमा कस्तो खाना खुवाउने भन्ने जानकारी दिन्छ ।
शर्माका अनुसार कुपोषणको समस्या समाधान गर्नका लागि आर्थिक, लैंगिक तथा समुदायका अन्य समस्याको समेत समाधान गरिनुपर्छ ।