वैश्विक भोक सूचकांक (ग्लोबल हंगर इन्डेक्स) को सूची अनुसार नेपाल गत वर्षभन्दा एक स्थान तल झरेको छ ।
सन् २०१७ र सन् २०१८ मा ७२ औं स्थानमा रहेको नेपाल सन् २०१९ मा एक तह तल झरेर ७३ औं स्थानमा परेको हो । तर, एक स्थान तल झर्नुमा नेपालमा भोकमरी बढेको नभई अरु देशले यो अवस्थामा धेरै सुधार गरेकाले हो ।
अहिले नै पनि दक्षिण एशियाली स्तरलाई हेर्दा भने नेपालको अवस्था श्रीलंकाबाहेकका देशभन्दा राम्रो छ । ११७ देशको यो सूचीमा भारत १०२ औं स्थानमा छ ।
त्यसैगरी बांग्लादेश ८८, पाकिस्तान ९४ र श्रीलंका ६६ औं स्थानमा छन् । अफ्गानिस्तान १०८ औं स्थानमा छ भने भुटान र मालदिभ्स तथ्यांकको अभावमा सूचीमा समावेश गरिएका छैनन् ।
ग्लोबल हंगर इन्डेक्सलाई आयरल्याण्डको एड एजेन्सी कन्सर्न वल्र्डवाइड र जर्मन संस्था वेल्ट हुंगरले तयार पार्छन् । यो सूची तयार पार्दा विभिन्न देशमा कुपोषित बालबालिकाको संख्या, उनीहरुको उचाईंको अनुपातमा तौल र उमेरको अनुपातमा उचाईं साथै पाँच वर्षसम्मका बालबालिकाको मृत्यु दर जस्ता आंकडा संकलन गरिन्छ ।
१०० पूर्णांकमा शून्यदेखि ९.९ अंक प्राप्त गर्ने मुलुकहरुमा भोकमरीको अवस्था नगन्य रहेको मानिएको छ भने १० देखि १९.९ अंक प्राप्त गर्ने मुलुकलाई मध्यमस्तरको भोकमरी रहेको र २० देखि ३४.९ अंकलाई गम्भीर प्रकृतिको भोकमरी रहेको भनिएको छ ।
त्यस्तै ३५ देखि ४९.९ अंक प्राप्त गर्ने मुलुकमा भयावह भोकमरी तथा ५० अंकभन्दा माथिको अंक प्राप्त गर्ने मुलुकमा भोकमरीको अवस्था अत्यन्तै भयावह भनिएको छ । यस अनुसार २०.८ अंक प्राप्त गरेको नेपालमा भोकमरीको अवस्था मध्यमस्तरको भन्दा धेरै भन्न सकिन्छ ।
नेपालले दुई दशक यता भोकमरीको अवस्थामा निरन्तर सुधार गर्दै गए पनि यस क्षेत्रमा पर्याप्त काम हुन नसकेको तथ्यांकले देखाउँछ ।
सन् २००५ मा ३१.३ अंक प्राप्त गरेको नेपालले सन् २०१० मा २४.५ अंक पाएको थियो भने सन् २०१७ मा २२.१ र सन् २०१८ मा २१.२ । जुन सन् २०१९ मा २०.८ अंकमा सीमित भएको छ ।
सूचीमा निकै कम जनसंख्या भएका, अतिविकसित तथा धेरै आय भएका मुलुकलाई समावेश गरिएको छैन ।
पछिल्लो सूचीमा बेलारुस, युक्रेन, टर्की, क्यूबा र कुवेत अव्वल छन् । रवान्डा र इथियोपिया जस्ता देशको अवस्था पनि सुधारिएको छ ।
सन् २००५ मा ५५.९ अंक प्राप्त गरेको इथियोपियाले यसमा व्यापक सुधार गर्दै सन् २०१९ मा २८.९ अंक प्राप्त गरेको छ । त्यस्तै रवान्डाले सन् २००५ मा ५६.६ अंक प्राप्त गरेको थियो भने सन् २०१९ मा आइपुग्दा २९.१ अंक प्राप्त गरेको छ ।