काठमाडौं- ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ मा अवार्ड दिलाईदिने भन्दै आयोजक संस्थाका महासचिवले आफूलाई यौन प्रस्ताव राखेको कलाकार छिरिङ डोमा शेर्पा ‘जेन्निफर’ ले आरोप लगाएकी छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै कलाकार संघ युएसएका वर्तमान अध्यक्ष तथा आयोजक संस्थाका महासचिव सुमन बुढामगरले आफूलाई पटक–पटक ‘इमोशनल ब्लकमेलिङ’ गर्दै ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेको आरोप लगाएकी हुन्।
अमेरिकामा आयोजना हुने भनिएको अवार्डको ‘टप थ्री’ मा पार्ने प्रलोभन देखाउँदै महासचिव बुढामगरले विभिन्न प्रस्ताव गरेको उनको स्टाटसमा उल्लेख छ। बुढामगरले अनेक थरी प्रलोभन देखाउँदै हेलिकप्टरमा मनाङ र पोखराका होटेलमा बस्नसमेत दबाव दिएको उनले बताएकी छन्।
पत्रकारहरु, अनलाइन न्युज र टेलिभिजन च्यानललाई सम्बोधनबाट उनले सुरु गरेको स्टाटसको अन्त्यमा कुविचारबाट ग्रसित बुढाबगरजस्ता समाजको नराम्रो व्यक्तिलाई सजाय दिन सबैको साथ र सहयोगको अपेक्षा समेत गरेको उल्लेख छ।
यसैबीच शेर्पाको स्टाटस बाहिर आएपछि अवार्डको आयोजक सस्था वल्र्ड कनेक्सन युएसए इन्सले एक विज्ञप्ती जारी गर्दै बुढामगरलाई अवार्ड आयोजक समितिबाट निलम्बित गरेको जनाएको छ।
‘अवार्डसँग जोडिएर लागेको आरोपको विषयमा बुझ्न बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको कारण बुढालाई निर्दाेष सावित नभएसम्मका लागि निलम्बित गरिएको छ,’ वल्र्ड कनेक्सनको विज्ञप्तीमा भनिएको छ। वल्र्ड कनेक्सनले कलाकार, सहयोगी संघ संस्था र सह आयोजकलाई समेत बुढामगरसँग अवार्डसम्बन्धी कुनै पनि कार्य नगर्न सचेतसमेत गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४