शनिबार, साउन ३०, २०८३

सहकारीको विश्व सम्मेलन रुवान्डाको किगालीमा सुरु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ - अन्तर्राष्ट्रिय सहकारी महासंघको विश्व सम्मेलन सोमबारदेखि रुवान्डाको किगालीमा सुरु भएको छ। सो सम्मेलनमा विश्वभरबाट ९४ वटा देशका एक हजार भन्दा बढीको सहभागिता रहेको छ। आइसीएमा १०९ वटा देशका ३१२ वटा संस्थाले सदस्यता लिएका छन्।
 
सम्मेलनको उद्घाटन स्थानीय सरकारका उद्योग तथा बाणिज्य मन्त्री सोराया हाकुजीयारेमेले र आइसीएका अध्यक्ष एरियल ग्वार्कोले गरेका थिए। 

सहकारीमार्फत समग्र मानव विकासमा सहयोग गर्ने उद्देश्यका साथ भेला भएका सहकारीले आगामी दिनमा कसरी अगाडि बढ्ने र सहकारीमार्फत संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य प्राप्तिका लागि कसरी सघाउ पुर्‍याउन सकिन्छ भन्ने विषयमा छलफल गरी आगामी दिनका लागि लक्ष्य निर्धारण गर्ने बताइएको छ।
 
मंगलबार सहकारी आन्दोलन र असमान विचारधारा, महिला सशक्तिकरण र दिगो विकास, सहकारी मोडेल मार्फत उद्यमशिलतामा इनोभेसन र मूल्य श्रृङ्खला र नैतिक समावेशीको ग्लोवलाइजेसन गरी चारवटा सेसनमा छलफल हुँदै छ। त्यस्तै बुधबार पनि विभिन्न विषयमा छलफल हुने आइसीएले जनाएको छ। 

कार्यक्रममा अध्यक्ष एरियल ग्वार्कोले सहकारीले समग्र विकासका लागि कसरी काम गर्न सक्छ ? भनेर अफ्रिकामा बसेर छलफल गरिने र लक्ष्य तय गरिने बताए। 
उनले समग्र मानव विकासको लागि सहकारीले अग्रणी भूमिका खेल्ने बताए। कम्पनी नाफामुखी हुने तर सहकारीले समग्र मानव विकासको लागि काम गर्ने भएकोले कम्पनी भन्दा यो फरक हुने ग्वार्कोले बताए। 

उनले एक करोड ७५ लाख भन्दा बढी सहकारीबाट २ अर्ब भन्दा बढी सदस्यले सेवा लिइरहेको बताए। हाल रुवान्डामा मात्र ९० प्रतिशत साना व्यवसाय र ४० प्रतिशत सहकारीमा रोजगारी निर्भर रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्