काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यम र सञ्चारकर्मीले प्रयोग गर्ने भाषाशैलीप्रति आपत्ति जनाएका छन्। अन्तरहिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवर्द्धनका लागि दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेकोमा असन्तुष्टि जनाए।
प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा भने,“सामाजिक सञ्जालले सभ्यताको पर्खाल भत्काएका छन्। सञ्चार माध्यमले अरुको नक्कल गर्ने भएर आदरार्थी शब्द पनि बिर्सिएका छन्। पत्रकारले बाउलाई पनि तपाईं भन्दैन। तिमीभन्दा माथि उठ्दैन।"
ओलीले अगाडि थपे, "अंग्रेजीको ‘यु’ लोभ लागेर, अर्काको एउटा ‘यु’ भन्ने शब्दको लोभ लागेर बालाई तपाईं भन्न गाह्रो लाग्यो। किनभने पैसावाला, डलरवाला, ‘यु’ वालाहरू ‘यु’ ले काम चलाउँछन् किन काम नचलाउने? सभ्यता त त्यो रहेछ भन्ने भ्रम पर्या छ।"
उनले सानालाई तिमी भन्ने, ठूलालाई तपाईं भन्ने स्वाभाविक रहेको बताए। भाषा समाज र संस्कृतिको एउटा प्रचलन र मर्यादा भएको बताउँदै उनले नेपाली संस्कृति सभ्यताको परिचायक भएको र नेपालीहरुलाई साँस्कृतिक रुपमा पनि पूर्वजहरुले बाटो देखाइदिएको उल्लेख गरे।
अरु देशका मानिसहरु ढुंगाको भरमा शिकार गर्दै गर्दा नेपालमा बेदका ऋचाहरुको रचना भइसकेको प्रधानमन्त्री ओलीले बताए। “न्यूटनले गूरुत्व आकर्षणको नियम पत्ता लगाउनु भन्दा धेरै अघि भाष्करचार्यले यो नियम पत्ता लगाएका हुन्” प्रधानमन्त्री ओलीले भने, “उनीहरुले प्रचार प्रसार गरेर हाम्रा पुर्खाको पत्ता लगाएको कुरालाई ओझेल पारे।” पुर्खाहरुले आफ्नो अनुभुतीलाई ज्ञानको रुपमा विकास गर्न हजारौं बर्ष अघि योगदान गरेको प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्री ओलीले नेपालमा अहिले व्यवस्था परिवर्तन भएर थिती बिधी बसेको बताए। कतिपयलाई थिती र बिधीको शासन मन नपरेर पुरानै धङधङी पालेर बसेको ओलीले आरोप लगाए।
कुनैबेला पुर्खाहरुले भन्ने गरेको ‘सर्वे भवन्तु सुखिन’लाई वर्तमान सरकारले राष्ट्रिय आकांक्षाको रुपमा सुखी नेपाली समृद्ध नेपालको रुपमा अघि सारेको प्रधानमन्त्री ओलीको भनाइ छ। नेपाली संस्कृति सभ्यताको परिचायक भएको बताउंदै प्रधानमन्त्री ओलीले नेपालीहरुलाई साँस्कृतिक रुपमा पनि पूर्वजहरुले बाटो देखाइदिएको उल्लेख गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४