रामेछाप- नेकपा सुनसरीका नेता सागर सुवेदी सोमबार पहिलोपटक जिल्ला सदरमुकाम मन्थली आए। उनी पार्टीको कार्यक्रमका लागि मन्थली आएका होइनन्, सगरमाथा आधार शिविर यात्राका लागि आएका हुन्।
ड्राइभिङ एसोसिएसन प्रदेश १ अध्यक्ष बाबुराम प्रधान पनि केही दिनअघि सगरमाथा आधार शिविर यात्राका लागि मन्थली आए ।
सुवेदी र प्रधान जस्तै पछिल्लो समय मन्थली हुँदै लुक्ला जाने स्वदेशी र विदेशी पर्यटकको चाप बढेको छ। मन्थलीबाट लुक्ला उडान सुरु भएपछि यस क्षेत्र हुँदै लुक्ला जाने यात्रु बढेका छन्। गत असोज १४ गते मन्थलीबाट लुक्ला उडान सुरु गरिएको बताइएको छ।
मन्थली–लुक्ला उडान सुरु भएसँगै यस क्षेत्रबाट लुक्ला जानेको चाप बढेको मन्थली विमानस्थल प्रमुख अमित चौरसिया बताउँछन्। यो क्षेत्र लुक्ला जाने ‘हब’ बनेको उनको भनाइ छ।
लुक्ला जाने यात्रुको चाप बढेपछि विमानस्थलले उडान बढाउने तयारीसमेत गरेको छ । प्रमुख चौरसियाका अनुसार मन्थली–लुक्ला रुटमा सीता, समिट र तारा एयरले नियमित उडान भर्नेछन्। केही दिनपछि दैनिक ३० देखि ४० उडान हुने विमानस्थलले जनाएको छ।
उद्योग वाणिज्य महासंघ, रामेछापका अध्यक्ष श्याम थापा मन्थलीऔलुक्ला उडान सुरु भएपछि चहलपहल बढेको बताउँछन्। उनले भने, “लुक्ला उडानले मन्थली पर्यटकको
ट्रान्जिट बन्दैछ।”
२०३५ सालमा स्थापना भएकाे विमानस्थल २०७३ मा कालोपत्रे भएको थियो।
थपिँदै होटल
लुक्ला उडान सुरु भएपछि होटल खुल्ने क्रम बढेको छ। हालसालै विमानस्थल नजिकै जिएस होटल सञ्चालन भएको छ।
होटल संचालक सुदीप देवकोटा लुक्ला उडान बढेपछि पाहुना बढेको बताउँछन्। उनका अनुसार मन्थलीमा दैनिक १५०-२०० पर्यटक अटाउने एक दर्जन राम्रा होटल छन् । तर, सबै सुविधासम्पन्न भने नभएको थापा बताउँछन्।
उनले भने, “कम्तीमा अट्याच ट्वाइलेट बाथरुम र वाइफाइ भएका होटल १० छन्।”
पर्यटक आगमन निरन्तरता हुने अवस्था आएमा लगानी बढ्न सक्ने थापाले बताए।
उनले स्थानीय सरकारसँग मिलेर पर्यटक बढाउन कार्यक्रम ल्याउन लागेको बताए। सहर सफाइको लागि ‘नेपाल भ्रमण वर्ष २०२०’को लागि ६ जना कर्मचारी नै नियुक्ति गर्ने तयारी गरिएको थापाले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४