काठमाडौं- कतार विश्वकप छनोटअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले आज (मंगलबार) आफ्नो अन्तिम अवे खेल जोर्डनसँग खेल्दै छ। खेल जोर्डनको अम्मान रंगशालामा नेपाल समय अनुसार राती ९ः४५ बजे सुरु हुनेछ।
विश्वकप छनोटअन्तर्गत सन् २०११ को अक्टोबरमा भएको खेलमा नेपालले सोही रंगशालामा जोर्डनसँग ९-० को लज्जास्पद हार व्यहोरेको थियो। नेपाल आज त्यही रंगशालामा पुनः एक पटक जोर्डनसँग विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा प्रतिस्पर्धा गर्दैछ।
सोही छनोटअन्तर्गत नेपालले घरेलु मैदान दशरथ रंगशालामा भने जोर्डनविरुद्व १-१ को बराबरी खेलेको थियो। हालसम्म यी दुई टोली दुई पटक आमने-सामने हुँदा एक पटक जोर्डनले जितेको छ भने एक खेल बराबरी खेलेका छन्। करिब ८ वर्ष अघिको उक्त हारलाई आत्मसात गरेका तीन खेलाडी अझै पनि राष्ट्रिय टिममा छन्।
गोलकिपर किरण चेम्जोङ, रोहित चन्द र सुजल श्रेष्ठले पुनः दोस्रो पटक घरेलु टोली जोर्डनसामु चुनौती पेश गर्नेछन्। तर, पछिल्लो समय प्रदर्शनमा क्रमिक सुधार गर्दै आएको नेपालको फुटबल टिम घरेलु टोलीविरुद्व कम्तिमा अंक खोस्ने प्रयासमा हुनेछ। जोर्डनले समूह चरणको पहिलो खेलमा चाइनिज ताइपेइलाई २-१ ले हराएको थियो भने कुवेतसँग बराबरी खेलेको थियो।
फिफा विश्वकप एसिया दोस्रो चरणको छनोटअन्तर्गत नेपालको यो चौथो खेल हो। नेपालले सुरुवाती तीन खेल खेल्दा एकमा जित र दुईमा हार व्यहोरेको छ। नेपाल पहिलो खेलमा कुवेतसँग ७-० ले पराजित हुँदा चाइनिज ताइपेइलाई २-० ले हराएको थियो। गत साता मात्र अस्ट्रेलियासँग नेपाल ५-० ले पराजित भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४