काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन काठमाडौंमा आजदेखि सुरु हुँदैछ । तीन दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ।
‘म, मेरो एनआरएनए र मेरो नेपाल’ मुल नारासहित आयोजना हुन लागेको सम्मेलनमा नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघले पनि साथ दिएको छ।
सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधि गरी २ हजार ५ सयको सहभागिता रहनेछ।
एनआरएनएको नयाँ नेतृत्वका लागि विभिन्न १४ पदमा ४२ जना चुनिने छन्, जसमा अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १-१ जना निर्वाचित हुनेछन् ।
प्रत्येक क्षेत्रीय समितिबाट एक–एकजना गरी ६ जना क्षेत्रीय संयोजक विश्व सम्मेलनबाट निर्वाचित हुनेछन्। त्यसैगरी क्षेत्रीय उपसंयोजकमा युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने छन्।
एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २-२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर-दक्षिण अमेरिका र ओसेनियाबाट १-१ जना क्षेत्रीय उपसंयोजकमा निर्वाचित हुनेछन्।
यस्तै, प्रत्येक क्षेत्रबाट १-१ जनाका दरले ६-६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने एनआरएनले जनाएको छ।
अध्यक्षमा आचार्य र पन्तको प्रतिष्पर्धा
संघको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष कुल आचार्य र कुमार पन्तले उम्मेदवारी दिने तयारी गरेका छन्। सोमबारसम्म दुवैले जसरी पनि उम्मेदवारी दिने बताएका थिए।
आचार्यले प्यानल नै बनाएर चुनाव लड्न लागेका छन् भने पन्तले आफ्नो प्यानल घोषणा गरिसकेका छैनन्।
आचार्यको प्यानलमा उपाध्यक्षमा अमेरिका निवासी डा. केशव पौडेल, कतार निवासी नरेन्द्र भाट, अस्ट्रेलिया निवासी मन केसी र अमेरिका निवासी रविना थापा छन्। त्यस्तै, महासचिवमा बेल्जियम निवासी जानकी गुरुङ र कोषाध्यक्षमा बेलायत निवासी सोम सापकोटा उम्मेदवार छन्।
आचार्यले एनआरएनएलाई सबै गैरआवासीय नेपालीको अपनत्व महसुस गर्ने साझा संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन्। उनले १० बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्। उनले एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउन भिजनरी नेतृत्व आवश्यक भएको बताएका छन्।
अर्का उम्मेदवार पन्तले पूर्वअध्यक्ष शेष घलेको ‘भिजन २०२०’को योजना नै आफ्नो मूल नारा र एजेण्डा रहेको बताएका छन्। उनले स्वदेशको समृद्धि र लगानी, वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकारलगायत २० वटा कार्ययोजना बनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४