काठमाडौं- नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आज (सोमबार)देखि सुरु हुँदैछ ।
भारतमा दुई दिनसम्म चल्ने बैठकको मुख्य प्राथमिकतामा अन्तरदेशीय प्रसारणलाइन र इनर्जी बैकिङ रहेको छ । यसअघि यो बैठक गत माघ ९ र १० गते पोखरामा भएको थियो ।
यसपटकको बैठकमा भारतसँग ऊर्जासम्बन्धी विभिन्न विषयमा छलफल र सहमतिको प्रयास हुनेछ। खाुसगरि न्यु बुटवल–न्यु गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनको निर्माणको मोडालिटी टुंग्याउने प्रयत्न बैठकमा गरिने उर्जा मन्त्रालयले जनाएको छ ।
बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतका तर्फबाट त्यहाँका ऊर्जा सचिव एससी गर्गले बैठकको नेतृत्व गर्नेछन्। बैठकले महत्वपूर्ण सहमति गर्ने मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले बताएका छन्
बैठकमा कटैया–कुशाहा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारणलाइनलाई डबल सर्किट गर्नेबारे पनि छलफल हुने उनले जानकारी दिए ।
यस्तै भारतका दैनिकरुपमा बोलकबोलमा बिजुली विक्री हुने इनर्जी मार्केटमा नेपाललाई प्रवेश दिनेबारेपछि यसै बैठकमा दुई देशले छलफल गर्नेछन् । नेपाल र भारतबीचको प्रसारणलाइनलाई आधुनिक बनाउन हार्मोनाइज तथा सिंक्रोनाइज गर्ने बारेपनि छलफल हुने भएको छ ।
यस्तै नेपाल र भारतबीच लम्की–बरेली र दुहबी–पुरणीया ४ सय केभीय प्रसारणलाइन निर्माण अघि बढाउन पनि यो बैठकले ठोस सहमति जुटाउन सक्ने सहसचिव अर्यालले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४