जनकपुरधाम- रौतहटमा गोली हानेर एक युवकको हत्या भएको छ। सीमा क्षेत्रस्थित इशरनाथ नगरपालिकामा एक युवकको हत्या भएको हो।
भारतीय नम्बरको मोटरसाइल चढेर आएका तीन जनामध्ये एकजनाको हत्या भएको बताइएको छ। स्थानीयका अनुसार मोटरसाइकलमा बीचमा राखेर ल्याइएको युवकलाई गोली प्रहार गरी मोटरसाइकल पुनः भारततर्फ गएको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नवीन कार्कीले इशरनाथ नगरपालिका–६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा एक युवकमाथि गोली प्रहार भएको जानकारी दिए।
डीएसपी कार्कीका अनुसार गोली लागेर मृत्यु भएको युवकको पहिचान खुल्न सकेको छैन। मृतक युवक अन्दाजी २५ वर्षको रहेको बताइएको छ। भारतबाटै आएका व्यक्तिहरुले कुनै भारतीय नागरिकको हत्या गरेर पुनः भारतर्फ फरार भएको हुनसक्ने प्रहरीको आशंका छ।
प्रहरी घटनास्थल पुगेर अनुसन्धान शुरु गरिसकेको डीएसपी कार्कीले बताए। गोली हात्रे व्यक्तिको समेत खोजतलास जारी रहेको उनले जानकारी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४