काठमाडौं- नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
होटल सोल्टीमा केहिबेर अघिबाट भेटवार्ता सुरु भएको हो । सीलाई भेट्न ओली करिब १० बजेतिर होटल सोल्टी पुगेका थिए ।
भेटमा दुई देशको हितका विषयमा महत्वपूर्ण छलफल भइराखेको जनाइएको छ । दुईपक्षीय भेटपछि दुई देशका अधिकारीहरुबीच विभिन्न समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
सम्झौतामा रेलमार्गको सम्भाव्यता अध्ययन र काठमाडाैं-केरुङ सुरुङमार्ग निर्माण प्राथमिकतामा पर्ने भएको छ ।
चीनले केरुङबाट काठमाण्डौ जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता दिएको छ । करिब २४ किलोमिटर लम्बाइ समेट्ने दुई सुरुङ बनाएर सडक स्तरोन्नति गर्न चीनले सघाउने भएको छ ।
काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म जोड्ने एउटा सुरुङमार्ग खोल्ने नेपालको प्रस्तावमा चीनले सघाउने भएको हो । यस्तै रसुवाको बेत्रावतीबाट स्याफ्रुबेसी जोड्ने अर्को सुरुङमार्ग बनाउन पनि चीनले सहयोग गर्न लागेको छ ।
रेलको सम्भाव्यता अध्ययन र सुरुङमार्गसँगै अरु केही परियोजनामा पनि हस्ताक्षर हुने सम्भावना छ ।
नेपालले चीनसँग सहयोगका लागि अन्तरदेशीय प्रसारण लाईन, विभिन्न नाकाको स्तरबृद्धि र सुधार, चीनसँगका नाका जोड्ने विभिन्न करिडोर निर्माण र स्तरोन्नति लगायतका एक दर्जन आयोजना प्रस्ताव गर्ने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति सीको सम्मानमा शनिबार राति आयोजना गरेको रात्रीभोजका क्रममा सीले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित बन्न चीनले सघाउने बताएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४