काठमाडौं- नेपाली काङ्ग्रेसले आज (आइतबार) कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट अपराह्न ५ बजेसम्म चियापान समारोह हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार कार्यक्रमको सबै तयारी सकिएको छ ।
विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।
कार्यक्रममा कांग्रेसले विभिन्न राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखलगायतलाई बोलाएको छ ।
यस्तै कार्यक्रममा उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, विभिन्न सञ्चारमाध्यमका प्रमुख, पत्रकारलगायतका विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता रहने कांग्रेस मुख्यसचिव पौडेलले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४