विष्णुप्रसाद पोखरेल
काठमाडौं : नेपालीको प्रमुखचाड बडा दसैंअन्तर्गत पर्ने नवौं दिनलाई आश्विन शुक्ल महानवमीका नामले चिनिन्छ। नवरात्रिीभर विशेष साधना गरी मनाइने पर्वको नवौं दिनकी आराध्या देवीको नाम सिद्धिदात्री हो।
सबै प्राणीलाई सिद्धि अर्थात् मोक्षगति प्रदान गर्ने हुनाले यिनको नाम सिद्धिदात्री रहन गयो। भक्तजनको सबै मनोकामना पूरा गर्ने भएकीले लोकले सिद्धिदात्रीका नाममा पूजा गर्दछ।
आज सुभद्रा नाम गरेकी कन्याको पूजा गरिन्छ।
यसै दिन नौवटी कन्याको सामूहिक पूजा गरिने विधान पनि बताइएको छ।
नवमीका दिन बिहान सैन्य सामग्री, हतियार, कलकारखाना, कृषिऔजार, यातायातका साधनमा शक्तिको न्यास गर्दै पूजा गर्ने र बलि प्रदान गरी नवमीको विशेष आराधना समापन गरिन्छ।
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ।
दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।
पशुबलि नदिनेले भने आ–आफ्नो कुल परम्पराअनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ। मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेको ९वध० ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ।
कतिपय शक्तिपीठमा भने हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ। महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ।
तलेजु भवानी खुल्ने
हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ। वर्षमा एक दिनमात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्छ।
तलेजु भवानी दर्शन गर्न चाहने भक्तजन आज बिहानै लाममा बस्न जाने गर्छन्। आज लाम बसेका सबै भक्तजनलाई देवीको दर्शन गर्न दिइन्छ। महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने गर्छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४