जनकपुर - विजया दशमीको आठौँ दिन जनकपुरस्थित राजदेवीसहित विभिन्न मन्दिरमा पूजाअर्चना गर्नेहरुको ठूलो संख्यामा भीड लागेको छ। दसैंका अवसरमा महाअष्टमीको दिन राजा जनकको कुलदेवता भनिएकी राजदेवी माताको पूजाअर्चना गरी प्रसाद चढाउनेको हरेक वर्ष ठूलो संख्यामा भीड लाग्छ।
राजदेवी मन्दिरमा प्रसाद चढाउनेहरु शनिबार राति १२ देखि लाममा बसेका थिए। राजदेवी मन्दिरमा मंगलबार राति १२ बजे सुरु भएको प्रसाद चढाउने कार्यक्रम आइतबार४ बजेसम्म चल्ने पूजाको संयोजन गर्दै आइरहेको महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहले बताएका छन्।
राजदेवी मन्दिरमा अष्टमीका दिन प्रसाद चढाउन जनकपुरसहित नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु आउने गरेका छन्।
महाष्टमीको दिनमात्रै एक लाखभन्दा बढी श्रद्धालुले राजदेवी मन्दिरमा प्रसाद चढाउनुका साथै पूजाअर्चनाका लागि आउने गरेको साहको भनाइ छ। एक अनुमानका अनुसार महाष्टमीका दिन राजदेवी मन्दिरमा प्रसाद चढाउनेको संख्या बढ्दै गएपछि पाँच टनभन्दा बढी लड्डु जनकपुरमा बिक्री भएको छ।
आज राति बोका बलि
राजदेवी मन्दिरमा वर्षमा एक दिन महाष्टमीको राति मात्र बोका बलि दिइन्छ। आइतबार साँझ सात बजेदेखि सुरु हुने बोका बलिका लागि शनिबार अबेर रातिदेखि श्रद्धालुहरु लाम लागेर बसेका छन्।
भाकल गरेका साथै अन्यव्यक्तिहरुले समेत महाष्टमीका राति राजदेवी मन्दिरमा बोका बलि गर्ने गरेका छन्। यहाँ बोका बलिका लागि नेपालका साथै भारतबाट समेत श्रद्धालुहरु पुग्ने गरेका छन्।
यस वर्ष १६ हजार बोकाको बलि दिइने अनुमान पूजा समन्वय गर्दै आइरहेको महावीर युवा कमिटी र राम युवा कमिटीका पदाधिकारीको छ।
गत वर्ष महाष्टमीको राति राजदेवी मन्दिरमा १५ हजार बोका बलि दिइएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४