शनिबार, साउन ३०, २०८३

नारायणीमा मोटरबोट सञ्चालन, प्रतिव्यक्ति शुल्क ३५००

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

चितवन- नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा नेपालकै सबैभन्दा लामो जलयात्रा सञ्चालन गरिएको छ।
चितवन, तनहुँ र नवलपुर जिल्लाको सिमानामा बग्ने यस नदीमा सञ्चालन गरिएको जलयात्राको लम्बाइ ४५.५ किलोमिटर छ। चितवनको इच्छाकामना गाउँपालिका ६ कालिखोलामा स्टेशन राखेर भरतपुर महानगरपालिका १६ को काभ्रेघाटसम्म जल यातायात सुरु गरिएको हो। आयुष्मा मोटरबोट कम्पनी प्रालीले सञ्चालन गरेको यस जलयात्रामा नियमित दुई वटा मोटरबोट सञ्चालन हुने कम्पनीका अध्यक्ष विजयचन्द्र अधिकारीले बताए। सुरुआती अवस्थामा दुई वटा मोटरबोट सञ्चालन गरिएको उल्लेख गर्दै उनले दुई महिनाभित्र एउटा 'स्मल क्रुज' समेत थपिने जानकारी दिए।
सात महिनाअगाडि सरकारबाट मोटरबोट सञ्चालनका लागि अनुमति पाएको यस कम्पनीले अहिले १४ सिट र १० सिट मोटर बोटबाट यात्रा सुरु गराएको हो। आउँदो वर्षसम्म तीन करोडदेखि पाँच करोडसम्मको लगानी गर्ने बताउँदै अध्यक्ष अधिकारीले दुई महिनाभित्र ४० 'सिटर स्मल क्रुज' सञ्चालन गरिने जानकारी दिए।
दृश्यावलोकनका लागि लक्षित गर्दै दुई तलाको 'स्मल क्रुज' सञ्चालन गरिने बताउँदै अधिकारीले सो 'क्रुजमा लक्जरी सिट' र माथि 'ओपन चियर सिट' राखिने जानकारी दिए।
कम्पनीका उपाध्यक्ष एवं व्यवस्थापक गणेशबहादुर थापाका अनुसार नेपालमा जल पर्यटनबाट आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्न मोटरबोट सञ्चालन गरिएको हो। 'नारायणी, कोसी, कर्णाली जस्ता नेपालको ठूला नदीमा जल यात्रा सम्भव छ भनेर हामीले मोटरबोट सञ्चालन गरेका हौँ', थापाले भने, 'यस जलयात्राले नेपाल भ्रमण वर्षमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन थप मद्दत पुग्छ।' सरकारले पानी जहाज सञ्चालन गर्ने नीति ल्याएको अवस्थामा आफूहरुले आन्तरिक तथा बाह्य पर्यटकलाई जलयात्रामार्फत रमाइलो प्रदान गर्न मोटरबोट सञ्चालन गरेको थापाले बताए।
मोटरबोटबाट चितवनको जलवीरे झरना, ऐतिहासिक धार्मिक तीर्थस्थल देवघाट धाम, गैँडाकोटको मौलाकालिकासहित रमणीयस्थल, नारायणगढ बजार, शिवघाटजस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिन्छ। नारायणी र त्रिशूली नदीमा सुरु भएको जलयात्राको दूरी बढाउन पहल भइरहेको आयोजकले जनाएको छ। पृथ्वी राजमार्गमा पर्ने फिस्लिङबाट चितवन राष्ट्रिय निकुञ्जको सिमानामा पर्ने गोलाघाटसम्मको जलयात्राको अनुमति लिनका लागि सङ्घीय सरकारसँग कुराकानी अगाडि बढाइएको थापाले बताए।
हाल निर्धारण गरिएको ४५.५ किलोमिटरको दूरीमा जलयात्रा गर्नका लागि प्रतिव्यक्ति शुल्क तीन हजार ५०० तोकिएको छ। जलयात्राका लागि तिरिएको शुल्कमा एक छाक खाजा, एक छाक खाना तथा एक रात होटलमा बास बस्ने व्यवस्था गरिएको कम्पनीका मार्केटिङ प्रमुख समीर श्रेष्ठले बताए।

जलयात्रा गर्न चाहने जोडीका लागि टिकट शुल्कमा १० प्रतिशत छुट प्रदान गरिने श्रेष्ठले बताए। दुई घण्टाको प्याकेज बनाएर दृश्यावलोकन गर्दै पर्यटकलाई जलयात्रा गराइने श्रेष्ठको भनाइ छ। आन्तरिक पर्यटकका लागि तीन हजार ५०० तोकिएको भए पनि बाह्य पर्यटकका लागि छुट्टै शुल्क निर्धारण गरिने उहाँको भनाइ छ।
जलयात्रामा त्रिशूलीतर्फ नदीको बहाव केही उच्च भएकाले केही स्थानमा उद्धारका लागि कायक बोट राखिएको श्रेष्ठले बताए। मोटरबोट उद्घाटन प्रदेशसभा सदस्य घनश्याम दाहालले गरे ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।