यतिबेला नेपालीको घरआँगनमा दसैँको चटारो छ। यही चटारोको बीचमा संघीय संसद्का पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुराचार, उनको पद त्याग, नैतिकमाथि देखिएको पतन र शून्यमा झरेको राजनीतिक जीवन चिया पसलदेखि तारे होटलसम्म चासोको विषय बनेको छ। स्वदेशी मात्र हैन विदेशी मिडियाले पनि यस प्रकरणलाई महत्त्वका साथ ‘कभरेज’ गरेका छन्। यौन दुराचारमा पद त्याग गर्ने महरा सम्भवतः नेपालकै उच्च ओहदामा रहेका पहिलो व्यक्ति हुन्।
नेकपा नेतृत्वले दबाब दिएपछि महरा नैतिकताको कारण देखाउँदै राजीनामा दिन बाध्य भए। महराका छोराहरूले पनि आफ्ना पितामाथि गम्भीर षड्यन्त्र भएको भनेर सामाजिक सञ्जालमा लेख्दै अब युद्धमा फर्कने चेतावनी दिएका छन्। उनीहरूले भनेजस्तै महरामाथि षड्यन्त्र गरेर बदनाम गरिएको हो वा उनी आफैंमा आएको चारित्रिक पतन हो भन्ने कुराचाहिँ भविष्यले नै स्पष्ट पार्नेछ।
तीन दशकदेखि कम्युनिस्ट आन्दोलनमा लागेर राजनीतिक उचाइ प्राप्त गरेका महरा कुनै बेला जनयुद्धका बेला निष्ठावान् मानिन्थे उनकै समकक्षीका भनाइमा। सरकारसँगको शान्ति वार्तामा प्रमुख भूमिका निर्वाह गरेका महरा माओवादी मूलधारमा आएपछि पटकपटक मन्त्री पनि बनेका थिए। यति लामो समयसम्म माओवादी शीर्ष तहमा रहेका महरालाई भित्रभित्रै खुच्चिङ भन्ने पनि धेरै होलान् उनकै पार्टीमा। त्यस्तै तत्कालीन नेकपाका केही नेताले पनि उनको बहिर्गमनलाई एउटा अवसरका रूपमा लिएका हुन सक्छन्।
जनयुद्धदेखि दोस्रो संविधानसभा निर्वाचनसम्म एउटै मोर्चामा रहेका बाबुराम भट्टराईले भने उनका पक्षमा सहानुभूति प्रकट गरेका छन्। भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा महरालाई सम्बोधन गरी पोस्ट गरेको स्ट्याटसमा आफू अत्यन्त मर्माहत भएको स्पष्ट पारेका छन्। यस्तो सहानुभूतिले महराको घाउमा केही मल्हम लाग्ला अथवा वैचारिक एवम् राजनीतिक रूपमा आफैँ अस्थिर बन्दै गएका भट्टराईका शब्द श्रद्धाले नेपाली कम्युनिस्ट आन्दोलनलाई नै गिज्याउला, त्यो भने समयले बताउनेछ।
उनले सामाजिक दायित्व बहन गर्ने मान्छेले यौन उच्छृंखलता गर्न नमिल्ने, महिलालाई उपभोग्या वस्तुको रूपमा प्रयोग गर्नु र सत्ताशक्ति र धनको वलमा महिलाको अस्मिता हरण र यौनशोषण गर्नु कानुनी दृष्टिले समेत दण्डनीय हुने भनेर सचेत गराउँदै पुरूष पनि उत्पीडन वा प्रतिशोध र षड्यन्त्रको जालमा पर्नसक्ने भन्दै रोशनी शाहीसँगको सम्बन्धमा बारेमा महरालाई सहानुभूति दिएका छन्।
यस्तो छ बाबुरामको पत्र :
प्रिय महराजी,
हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रिय जगत पनि तरंगित त छँदैछ म व्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु। यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन, हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसँग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने धृष्टता गरेको छु।
१. माओवादी नेतृत्व तहमा हामी (विशेषतः प्रचण्ड र म) सुरेश वाग्ले र तपाईंलाई उच्च नैतिकवान् र इमान्दार पात्र मान्थ्यौं। हामीबीच विवाद पर्दा तपाईं दुई जनाको कुरालाई हामीले विशेष महत्त्व दिन्थ्यौं। प्रचण्ड र मेरोबीचमा २०५५/५६ मा पहिलो ठूलो वैचारिक(सांगठनिक बहस हुँदा २०५६ साउन र भदौमा पन्जाबको रोपडमा भएको पोलिटब्युरो बैठकमा तपाईं दुईजनाको सुझाव मानेर हामीले विवाद हल गरेका थियौं। (दुर्भाग्यवश त्यो बैठक सकेर फर्कनेबित्तिकै भदौ २३ गते गोरखामा सुरेश वाग्लेले गौरवपूर्ण सहादत प्राप्त गर्नुभएको थियो।)
पछि पोष्टबहादुर बोगटी र तपाईँ पार्टीका आदर्श पात्र मानिन थाल्नुभयो ! २०७१ सालमा बोगटीजीको दुःखद् निधन र पार्टीको क्रमशः ओरालोलाग्दो नैतिक धरातलले आम जनतालाई समेत माओवादी आन्दोलनप्रति वितृष्णा बनाउँदै लग्यो। कांग्रेस–एमाले पहिले नै भ्रष्टाचार र सुरासुन्दरी काण्डले बदनाम भइसकेका थिए। तपाईंको यो पछिल्लो प्रकरण त्यसैले तपाईंको एउटा निजी मामिला मात्र नभएर नेपालको क्रान्तिकारी आन्दोलनको वैचारिक(राजनीतिक र नैतिक संकटको एउटा अत्यन्त नकारात्मक बिम्ब बन्न पुगेको छ। यसलाई तपाईं हामी सबैले स्वीकार्नैपर्छ।
२. माओवादी आन्दोलन यो रसातलको विन्दुसम्म कसरी पुग्यो ? त्यसको सांगोपांगो विश्लेषण र संश्लेषण छुट्टै गरौंला। हामीले नेपाली क्रान्तिलाई संघीय लोकतान्त्रिक गणतन्त्रको शिखरसम्म पुर्याएकै हो। यसमा हामीले सामूहिक गर्व गर्नुपर्छ। तर, रोजा लक्जेम्बर्गले भनेझैं क्रान्ति स्थिर भएर बस्दैन । कि त त्यो अघि बढाइनु र बढ्नु पर्छ, नत्र त्यो पछाडि हट्छ। त्यस्तै अर्को भनाइ छ– शिखर चढ्न सजिलो हुन्छ । तर, त्यहाँ टिक्न गाह्रो हुन्छ। अझै अर्को भनाइ छ- क्रान्ति सम्पन्न भएको भोलिपल्ट हिजोका क्रान्तिकारीहरू प्रन्तिक्रान्तिकारीमा बदलिन्छन्।
यहींनेर हामी चुक्यौं। मैले यो एउटा शिखर चढेपछि अर्को शिखर चढ्न नयाँ बाटो खोजौं भनेको थिएँ। तर, मैले साथीहरूलाई मनाउन सकिनँ। साथीहरू पुरानै शिखरमा बसिराख्न खोज्नुभयो तर वैज्ञानिक रूपमा त्यो सम्भव थिएन। त्यसैले अब क्रमशः साथीहरू पुरानो शिखरबाट खुर्मुरिरहनुभएको छ। तपाईं ( महराजी)को पछिल्लो प्रकरण त्यसैको एउटा नमुना हो।
३. यो प्रकरणमा तपाईं दोषी हुनुहुन्छ वा हुनुहुन्न म किटेर भन्न सक्दिनँ। सत्य कि तपाईंलाई थाहा छ कि सम्बन्धित महिलालाई थाहा छ। तर, अहिलेसम्म बाहिर आएका कुराबाट शंकाको सुई तपाईंतिर सोझिन्छ। हामीले एसएलसीमा पुष्कर शमशेरको “परिबन्द” कथा पढ्थ्यौं। त्यहाँ परिबन्दले निर्दोष व्यक्ति दोषी ठहरिन्छ।
यौन मामिलामा महान् व्यक्तित्वहरू पनि कसरी चुक्छन् भन्नेवारे स्कुलमा पढ्दा गुरूले सुनाएको यो संस्कृत श्लोक सम्झिन्छु-
विश्वामित्र परासर प्रभृत्तयो वाताम्बु पर्णाशना।
तेपिस्त्री मुखपंकजं सुललितम् दृष्ट्वैव मोहम् गता।।
साल्यान्नम् सघृतम् पयोदधियुतम् भुन्जन्ति ये मानबास्।
तस्याम् इन्द्रीय निग्रहो यदि भवेत् विन्ध्यस्तरेत् सागरम्।।तर, प्राकृतिक कारण र ऐतिहासिक उदाहरण दिएर सामाजिक दायित्व बहन गर्ने मान्छेले यौन उच्छृंखलता गर्न मिल्दैन।अझै गम्भीर कुरा त महिलालाई उपभोग्य वस्तुको रूपमा प्रयोग गर्नु र सत्ताशक्ति र धनको वलमा महिलाको अस्मिता हरण र यौनशोषण गर्नु कानुनी दृष्टिले समेत दण्डनीय हुन्छ।
हाम्रो जस्तो पितृसत्तात्मक समाजमा अधिकांश रूपमा महिला नै पीडित हुने भए पनि कहिलेकाहीँ पुरूष पनि उत्पीडन वा प्रतिशोध र षड्यन्त्रको जालमा पर्नसक्छ। तपाईंको हकमा पनि अन्यथा भएको हुनसक्छ। त्यसनिम्ति पनि तपाईंले सत्यतथ्य बाहिर ल्याएर कानुनबमोजिम न्यायको निरूपण गर्न र आफूलाई निर्दोष सावित गर्न स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गर्नुपर्छ र त्यसलाई सघाउनुपर्छ। त्यसले तपाईंको प्रतिष्ठा घटाउने हैन बढाउनेछ।
यदि जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्वीकार्नु र प्रायश्चित्त गर्नु नै तपाईं स्वयम्, क्रान्तिकारी आन्दोलन र देशको हितमा हुनेछ। भनिन्छ– गल्ती गर्नु अपराध हैन, गल्ती नसच्याउनु अपराध हो।
तपाईंको शुभेच्छुक
बाबुराम
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४