शनिबार, साउन ३०, २०८३

दसैंमा इन्धनको अभाव हुँदैन : निगम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल आयल निगमले दसैंका अवसरमा काठमाडौँ उपत्यकालगायत मुलुकभर पेट्रोलियम पदार्थको कुनै अभाव नहुने स्पष्ट पारेको छ। 

पेट्रोलियम पदार्थको आयात नियमितरुपमा भइरहेको र सबै डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको निगमले जनाएको छ। फूलपातीको दिन उपत्यकाबाट बाहिरिने सवारीसाधनको अवस्थालाई मध्यनजर गर्दै निगमको थानकोटस्थित डिपोले उपत्यकामा झण्डै २० लाख लिटर पेट्रोलियम पदार्थ वितरण गरेको छ। 

थानकोट डिपोबाट शुक्रबार मात्रै ११ लाख ५० हजार लिटर पेट्रोल र आठ लाख ५० हजार लिटर डिजेल विभिन्न पेट्रोल पम्पलाई पठाइएको डिपोका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए। फूलपातीका दिन निगमका सबै डिपो नियमितझै खुला रहनेछन्। 

“निगमसँग पर्याप्त मात्रामा इन्धनको मौज्दात रहेको छ, आयात नियमित रहेको छ”, उनले भने, “पेट्रोलपम्पले मागे जति नै इन्धन उपलब्ध गराएका छौँ, इन्धनको कुनै अभाव हुँदैन।” दसैंलाई लक्षित गर्दै विगत तीन/चार दिनदेखि उपत्यकामा औसत दैनिक आठ लाख लिटर पेट्रोल र डिजेल बिक्री गरिएको निगमले जनाएको छ। निगमले पर्याप्त मात्रामा इन्धन भण्डारण गर्न सबै पेट्रोल पम्पलाई आग्रह गरेको छ।

उपत्यकाका सबै पेट्रोल पम्पबाट सहजरुपमा इन्धन बिक्री भइरहेको छ। उपत्यकाबाट बाहिरिने सवारीसाधनका कारण इन्धन भर्नेको केही चाप देखिए पनि कुनै पनि पेट्रोल पम्पमा लाइन बस्नुपर्ने अवस्था छैन। 

सरकारी बिदामा पनि डिपो खुल्ने

दसैंको बिदामा पनि इन्धनको अभाव हुन नदिन निगमले सार्वजनिक बिदा भए पनि डिपो आंशिक खुला राख्ने भएको छ। कुनै पनि पेट्रोल पम्पबाट इन्धनको माग आए तत्कालै ‘लोड’ गर्ने गरी कर्मचारीको व्यवस्था गरिएको छ। 

थानकोट डिपोमा मात्र प्राविधिकसहित १५ कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ। उनीहरुले जुनसुकै बेला पेट्रोल पम्पबाट इन्धनको माग आएमा ‘लोड’ गर्ने प्रमुख उपाध्यायले जानकारी दिए। निगमको थानकोटस्थित डिपोले काठमाडौँ उपत्यकासहित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट र रामेछापका केही क्षेत्रका पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउँदै आएको छ। 

त्यसैगरी ५ नं प्रादेशिक कार्यालय भैरहवामा पनि सार्वजनिक बिदाको दिन भैपरी कामका लागि अत्यावश्यक कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ। यसैगरी १ नं प्रादेशिक कार्यालय विराटनगरले पनि दसैंका बेला इन्धनको अभाव नहोस् भनेर पाँच जना कर्मचारीलाई ‘डियूटी’ मा खटाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।