जनकपुरधाम – प्रहरीले १२ लाख मूल्य बराबरको अवैध पटाकासहित बाराबाट तीनजनालाई पक्राउ गरेको छ। भारतबाट प्रतिबन्धित पटाका भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई कलैया उपमहानगरपालिका–१३ को छोटकी फुलबरिया टोलस्थित सडकबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१८ बस्ने २० वर्षीय सुकमान लामा, कलैया उपमहानगरपालिका–१ का २० वर्षीय वीरेन्द्र यादव र सोही ठाउँ बस्ने १८ वर्षीय रुपेश दास रहेको प्रहरीले जनाएको छ।
ना ४ ख ६९५९ नम्बरको बोलेरो पिकअपमा आठवटा बोरामा पटाका ल्याइरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनीहरुको साथबाट बरामद गरिएका पटाकाको मूल्य करिब १२ लाख रहेको प्रहरीले बताएको छ।
पक्राउ परेका तीनैजनाविरुद्ध विष्फोटक पदार्थसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४