शनिबार, साउन ३०, २०८३

यस्तो छ जनकपुरमा दसैंको चहलपहल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- धार्मिक तथा साँस्कृतिक नगरी जनकपुरमा दसैं सुरु भएलगत्तै चहलपहलमा ह्वात्तै बढेको छ ।
 
जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिर लगायत एक दर्जन भन्दा बढी स्थानमा शक्ति स्वरुपा दुर्गाको प्रतिमा निर्माण गरी श्रद्धा तथा उल्लास पूर्वक दसैं मनाइँदै छ । राजदेवी मन्दिरका साथै पुजास्थलीहरु बेहुली झैं सजाइएको छ ।
 
झिलिमिलि बत्ति जडान गरी सजाइएका जनकपुरका मन्दिरहरु जो कोहीलाई आकर्षित गरिरहेको हुन्छ । पूजाआजा गर्नेहरुका साथै जनकपुर घुम्न आएका पर्यटकहरुका लागि समेत मनोरम बनेको छ, जनकपुर । 

पूजा हुने स्थानहरुमा बिहानदेखि साँझसम्म निरन्तर भइरहने दुर्गा स्तुती, भजन, किर्तनले थप धार्मिक माहौल बनको छ ।


स्थायी मन्दिरबाहेक माटोको प्रतिमा निर्माण गरी दशैं पूजा गर्ने पुरानो परम्पारालाई समेत यहाँका युवाहरुले जीवन्त राख्ने प्रयास गरेका छन् । यस क्षेत्रमा दशैंमा भव्य दुर्गाको प्रतिमा निर्माण गररे दशैं अवधिभर पूजाअर्चना गर्ने पुरानो परम्परा रहेको छ ।

दसैंमा माता दुर्गाको पूजाअर्चना गर्न राम मन्दिर परिसरमा रहेको राजदेवी मन्दिर, विद्यापति चोक स्थित दुर्गा मन्दिर, रामानन्द चोक, पिडडीया माइस्थान, वौधीमाई रजौल लगायतका स्थानहरुमा भव्य सरसजावट गरिएको छ ।
 
जनकपुरमा दसैंलाई भव्यता प्रदान गर्न आयोजकहरुले लाखौ खर्च गरेका छन् । राजा जनकका कूलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरमा फूलैफूलको गेट बनाई झिलिमिली बत्ती जडान गरिएको छ । 

वर्षौदेखि जीर्ण अवस्थामा रहेको राजदेवी मन्दिरलाई स्थानीय महावीर युवा कमिटीको सक्रियतामा सौन्दर्यीकरण गर्न जीर्णोद्धार गरिएको छ । दशैं सुरु भएलगत्तै राजदेवी मन्दिरमा श्रद्धालुहरु आउने गरेपनि विगत दुई दिनयता भिडभाडमा अत्याधिक वृद्धि भएको महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहले बताए ।

यसैगरी स्थानीय रामानन्द युवा क्लबले रामानन्द चोकमा माटोको प्रतिमा निर्माण गरी हरेक वर्ष झैँ यस वर्ष पनि दसैं पूजाको आयोजना गरेको छ । ठुलो पण्डाल निर्माण गरी हुँदै गरेको दसैं पूजा विजया दशमीक दिन सम्पन्न हुने रामानन्द युवा क्लबका अध्यक्ष मनमोहन साहले बताए । 


पण्डाल निर्माण गरी दसैंपूजा गर्न करिब १२ लाख सम्म खर्चको अनुमान रहेको अध्यक्ष साहको भनाइ छ । स्थानीयहरुबाट प्राप्त आर्थिक सहयोगले पूजा व्यवस्थान गरिएको उनले बताए । यसैगरी विद्यापति युवा क्लबले स्थानीय विद्यापति चोकमा भव्य प्रतिमाको स्थापना गरी दसैं पूजा गर्दै आइरहेको छ । 

दुर्गा पूजा गरिने विभिन्न स्थानहरुमा विहानैदेखि श्रद्धालुहरुको घुइँचो रहने गरेको छ । श्रद्धापूर्वक मनाइने दसैंको अवसरमा विशेष गरी महिलाहरु एका बिहानै शक्तिपीठहरुमा पुगेर पूजाअर्चना गर्ने गरेका छन् । 

नेपालमै चर्चित रहेको जनकपुरको दुर्गा पूजा हेर्न पर्यटकहरुको समेत घुइँचो देखिन थालिएको छ । यस वर्ष दशैंमा आन्तरिक तथा बाह्य पर्यटकहरुको उल्लेख्य संख्यामा उपस्थिति देखिएको युवा समाजसेवी प्रमोद चौधरीले बताए । चौधरीले यहाँको दसैंको आफ्नो अलग पहिचान रहेको र यसलाई जोगाइ राख्न स्थानीय युवाहरुले सक्रिय भूमिका निर्वाह गरेको बताए ।
 
चौधरीले भने, 'धार्मिक आस्थाको केन्द्र जनकपुरमा मनाइने दसैं अन्य स्थान भन्दा फरक छ । युवाहरुले कडा परिश्रम र मेहनतले जनकपुरको दसैंलाई भव्यता प्रदान गरेका छन् ।'
 
यता, दसैंको अवसरमा हुने भीडभाडलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सुरक्षा योजना बनाएको छ । विजया दशमीदेखि छठ सम्म हुने भीडभाडको क्रममा कुनै प्रकारक अप्रिय घटना रोक्न विशेष जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सुरक्षा योजना लागू गरेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।