शनिबार, साउन ३०, २०८३

महराबाट 'पीडित' महिला किन युटर्न भइन् ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरहरुलाई प्राथमिकतामा पारेका छन् ।
 
कसैले नेता कृष्णबहादुर महराको काण्ड र उनले फेरि दोस्रो पटक सभामुख पदबाट राजीनामा गरेको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले असोज २५ गते हुने चिनियाँ राष्ट्रपतिको भ्रमण विकास केन्द्रित हुने विषयलाई मुख्य समाचार बनाएका छन् ।
 
आजको कान्तिपुरले महरा काण्डलाई मुख्य समाचार बनाउँदै किन भइन् पीडित युटर्न शीर्षकमा खबर लेखेको छ ।

समाचारमा जनाइएअनुसार प्रहरीको अनुसन्धानले तत्कालिन सभामुख महरा निजी सुरक्षाकर्मी लिएर रोशनी शाहीको डेरामा पुगेको पुष्टि गरेको छ ।

शाहीले आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले महरा उनको निवास पुगेको पुष्टि गरेको हाे । प्रहरीले संकलन गरेको सीसीटिभी फुटेजमा महरा नीजि सुरक्षाकर्मी नै लिएर त्यहा पुगेको देखिएको छ । 

उनी साझ ७ बजे ६ मिनेट जादा शाहीको कोठमा पुगेका थिए । त्यहाबाट उनी ८ः२५ मा कोठमाबाट फर्किएका थिए भने ८ बजेर ५३ मिनेट जादा उनी बालुवाटार निवास पुगेको सीसीटिभी फुटेजमा देखिएको छ । तर, पीडित महिलाले एकाएक बयान फेरेकाले अनुसन्धान भने प्रभावकारी बन्न नसकेको जनाइएको छ ।
 
यस्तै कान्तिपुरले हराए २७१६ सीमास्तम्भ शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ । नेपाल र भारतबीचको सीमामा ८५५३ सीमास्तम्भ हुनुपर्ने भएपनि ५८३७ वटा मात्रै सीमास्तम्भ रहेको पाइएको छ ।
 
अन्नपूर्ण पोस्ट्ले सीको भ्रमण विकास केन्द्रित शीर्षकमा मुख्य समाचार छापेको छ ।

विद्युत र सडक परियोजना, बाहिरी चक्रपथ निर्माण र रेलमार्ग उच्च प्राथमिकतामा रहेको समाचारमा उल्लेख छ । नागरिक दैनिकले पनि चिनियाँ राष्ट्रपति सी असोज २५ गते आउन लागेको विषयलाई प्राथमिकताका साथ छापेको छ।
 
नयाँ पत्रिकाले भने गण्डकी मेडिकल कलेजको असुली धन्दाको पर्दाफास गरेको छ । विद्यार्थीबाट तीन वर्षमा ४३ करोड ठगी शीर्षकमा समाचार लेखेको उसले को विद्यार्थी कति रकम ठगिए भन्ने विवरण समेत छापेको छ । 

महरा प्रकरण : किन भइन् ‘पीडित’ युटर्न ?

कान्तिपुरमा प्रकाशित समाचारअनुसार यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाहीले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ ।

प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको छ । स्रोतका अनुसार उनी त्यहाँ पुगेको सूचनाको प्राविधिक विश्लेषण गरेर प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको थियो ।

स्रोतबाट कान्तिपुरलाई प्राप्त जानकारीअनुसार साँझ ७ बजेर ६ मिनेटमा महराको गाडी शाहीको निवासछेउमा रोकिएको थियो । एक घण्टा १९ मिनेटपछि ८:२५ मा उनी त्यहाँबाट फर्किएका थिए । त्यहाँबाट महरा सोझै सभामुख निवास बालुवाटार पुगेका थिए । प्रहरीले बालुवाटार क्षेत्रबाट पनि सीसीटीभी फुटेज संकलन गरेको थियो, जसमा महरा ८ बजेर ५३ मिनेटमा निवास प्रवेश गरेको देखिन्छ ।

प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बानेश्वरको टोली बुधबार साढे ९ बजेतिर शाहीको कोठामै गएर घटनाबारे थप बुझेको थियो । त्यतिबेला पनि शाहीले आपसमा बाझिने गरी घटनाबारे बताएकी थिइन् । 

प्रहरीले लिखित जाहेरी दिन आग्रह गर्दा उनले श्रीमान् आएपछि मात्रै आफूले निर्णय लिने बताएकी थिइन् । अघिल्लो दिनसम्म आफूमाथि यौनहिंसा भएको बताउँदै प्रहरीको टोल फ्रि नम्बर एक सयमा कल गरेकी र केही अनलाइन सञ्चारकर्मीसँग घटना सुनाएकी उनी ४८ घण्टाभित्रै ‘युटर्न’ भइन् । 

शाहीले सोमबार आफैंले दिएको अन्तर्वार्ताभन्दा ठ्याक्कै विपरीत खालको अन्तर्वार्ता मंगलबार दिइन् । उनले मंगलबारको अन्तर्वार्तामा महरा आफ्नो घरमै नआएको दाबी गरिन् । मंगलबार दिनभरजसो मोबाइल फोन अफ गरेर सम्पर्क बाहिर रहेकी शाहीले अन्तर्वार्ता दिएपछि मात्रै आफ्नो मोबाइल अन गरेकी थिइन् । 

उनले बयान फेरेको विषयमा मंगलबार राति कान्तिपुरले उनीसँग जिज्ञासा राखेको थियो । जवाफमा उनले यो विषय बन्द भइसकेको उल्लेख गर्दै भनिन्, ‘यस्ता झिनामसिना कुरातिर नजाम् के । आ–आफ्नो काम गर्नुस् ।’

शाहीले बुधबार साँझ महानगरीय प्रहरी वृत्त बानेश्वरमा लिखित निवेदन दिँदै आफूमाथि यौन दुर्व्यवहार भएको भनी मिडियामा आएको कुरामा सत्यता नरहेको उल्लेख गरेकी छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीका अनुसार उनले निवेदनमा डिप्रेसनका बेला होसमा नभएर मिडियामा बोलेको जनाएकी छन् । शाहीले ४८ घण्टाभित्रै किन बयान फेरिन् भन्ने प्रश्नको उत्तर खोज्न प्रहरीले चासो देखाएको छैन । 

यसबारे राज्यका अन्य निकायले पनि चासो लिएको देखिँदैन । बरु उनी असुरक्षित हुन सक्ने वा भावावेशमा अप्रिय निर्णय लिन सक्ने भन्दै प्रहरी परिसर काठमाडौंले उनको सुरक्षामा एक असई र एक महिला प्रहरी खटाइदिएको छ ।

यो घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने मंगलबार बिहानपछि अपराह्न ४ बजेसम्म महिला सम्पर्कबाहिर रहेको र त्यही समयमा उनी आफ्नो बयान फेर्न दबाबमा परेको हुन सक्ने सुनाए ।

घटना सार्वजनिक भएपछिको अवधिमा शाही परिवार वा नातेदारको साथमा नहुनु र महरासँग निकट व्यक्तिहरूको सम्पर्कमा पुग्नुबाट पनि उनी दबाबमा परेको आशंका जन्मिन्छ ।

चिनियाँ राष्ट्रपति सीको भ्रमण विकास केन्द्रित

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा वार्ता हुने भएको छ।

यस्तै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र अधिकारीले बताएका छन्। 

भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक योजनामा छलफल गर्ने गरी परराष्ट्रका उच्च अधिकारीहरू एजेन्डा तयारीमा व्यस्त छन्।

केरुङ–काठमाडौं सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग, तातोपानी र रसुवागढी नाका स्तरोन्नति, अरनिको राजमार्ग थप व्यवस्थित, राजधानीको चक्रपथको स्तरोन्नति र बाहिरी चक्रपथ निर्माणका विषयमा द्विपक्षीय छलफल हुनेछ।

किमाथान्का–धनकुटा–हिले सडक निर्माण, हिल्सा नाकाको विकाससँगै रेलमार्ग निर्माण पनि एजेन्डामा समावेश छ। यस्तै गल्छी–रसुवागढी–केरुङ प्रसारण लाइन र कर्णाली जलविद्युत् आयोजनामा पनि छलफल हुनेछ। 

राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आग्रहमा उनका पति महासचिव मदन भण्डारीका नाममा खोल्न लागिएको विश्वविद्यालयका लागि चिनियाँ सहयोग मागिनेछ।

चिनियाँ दूतावासका अधिकारी पनि सहयोग परियोजनाबारे छलफलमा व्यस्त छन्। परियोजना सूचीलाई आवश्यक परामर्श गरेर अन्तिम रूप दिन विदेशमन्त्री वाङ यीको भ्रमणमै छलफल भएको थियो। 

बीआरआई परियोजनाअन्तर्गत राष्ट्रपति सीले ठूलो सहायता घोषणा गर्ने संकेत मिलेको परराष्ट्र अधिकारीले बताए। केरुङ–काठमाडौं रेल निर्माणको सम्झौतामा चीनले सहयोग घोषणा गर्न सक्नेछ।

गण्डकी मेडिकल कलेजद्वारा विद्यार्थीबाट तीन वर्षमा ४३ करोड ठगी

नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार अवैध रूपमा असुलेको रकम फिर्ता गर्नुको सट्टा ठगीलाई निरन्तरता दिएपछि गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालविरुद्ध विद्यार्थीले पुनः उजुरी दिने तयारी गरेका छन् । 

गत फागुनमा विद्यार्थीको उजुरीपछि प्रहरीले सञ्चालकविरुद्ध ठगी मुद्दा चलाएको थियो । तर, सामान्य धरौटीमा छुटेका अर्यालले फेरि ठगी सुरु गरेपछि विद्यार्थी एक महिनायता आन्दोलनमा छन् । 

‘आन्दोलनरत विद्यार्थीले मेडिकल कलेजको ठगीबारे जानकारी दिएका छन्,’ कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नयाँ पत्रिकासँग भने, ‘अब ठगी मुद्दामा जाहेरी दिने विद्यार्थीको तयारी छ ।’ 

गृह मन्त्रालयले ठगी गरेको रकम एक महिनाभित्र फिर्ता गर्न अल्टिमेटम दिइसकेको छ । रकम फिर्ता नगरे ठगी मुद्दामा कारबाही चलाउने गृहको निर्णय छ । 

त्यस्तै, शिक्षा मन्त्रालयले गण्डकी मेडिकल कलेजको नामै तोकेर अतिरिक्त शुल्क फिर्ता गराउन प्रशासनलाई पत्राचार गरिसकेको छ । पैसा फिर्ता नगरे कलेजमाथि कारबाही र सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउनुको विकल्प नभएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए । 

त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय सतर्कता केन्द्रले छुट्टाछुट्टै अनुगमन तथा अनुसन्धान गर्दा विद्यार्थी ठग्ने मेडिकल कलेजमा पहिलो नम्बरमा गण्डकी मेडिकल कलेज नै देखिएको छ । 

पछिल्लो तीन वर्षमा मात्रै उसले ४३ करोड चार लाख ९० हजार ठगेको भेटिएको हो । त्रिविले डेढ वर्षअघि अनुगमन गरेकोमा प्रधानमन्त्री कार्यालयको निर्देशनमा केही समयअघि राष्ट्रिय सतर्कता केन्द्रले पनि अनुसन्धान गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।