शनिबार, साउन ३०, २०८३

कुखुरा पालेरै भुसालले जोडे १५ बिघा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

चितवन - निरन्तर सङ्घर्ष गर्‍यो भने आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण यहाँका चूडामणि भुसालले दिएका  छन्। २२ वर्ष अघि आफ्नै घर छेउमा १५० ब्रोइलर कुखुराबाट पेसा सुरु गरेका भुसालको फार्ममा अहिले एक लाखभन्दा बढी लेयर्स कुखुरा छन्। 

भरतपुर महानगरपालिका–२३ जगतपुरका ४२ वर्षीय भुसालले २०५४ सालमा घरसँगै खोर निर्माण गरेर १५० ब्रोइलर कुखुरा पाल्न शुरु गरेका थिए। भरतपुरको प्राइम बैंकका प्रबन्धकको कोठामा भेटिएका भुसालले जोगी र साहु हुँदै यहाँसम्म आइपुगेको बताए। बाढी, बर्डफ्लु, जनआन्दोलन, नाकाबन्दीजस्ता सङ्कट उनले पार गरे। 

विसं २०५९ मा राप्ती नदीले सबै कुखुरा बगाएपछि सम्पत्तिभन्दा ऋण चार गुणा पुगेको भन्दै उनले निरन्तर काम नछोडेकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको बताए। बाढीले १५ हजार कुखुरा बगाएपछि ऋणमा चुर्लुम्म डुबे पनि हरेश नखाएका भुसालले त्यसपछि पनि कुखुरापालन व्यवसायलाई निरन्तरता दिए। यससँगै आफ्नो पुर्ख्यौली चार कट्ठा जमीनलाई बढाएर त्यही ठाउँमा उनले तीन बिघा १० कट्ठा जमीन जोडे। भुसालले भनेजस्तै दोस्रो पटक फेरि २०६२/०६३ को जनआन्दोलनसँगै उनलाई यही पेशाले जोगी बनायो। ऋण अरु थपिए पनि पेशालाई उनले निरन्तरता दिए। विसं २०६२ बाट उनले ब्रोइलरसँगै लेयर्स पनि पाल्न थाले। 

त्यतिबेला उनको कुखुरा ५० हजार पुगेका थिए। "आँट बढ्दै गयो", भुसालले भने, “२०७१ सालमा नवलपरासीको धारापानीमा चार बिघा जमीन किनेर ४० हजार लेयर्स पाल्न थाले।”

त्यसको दुई वर्षपछि उनले नवलपरासीकै दुम्कीवासमा पाँच बिघा जमीन किनेर ५० हजार लेयर्स पाल्न थाले। अझै विस्तारका लागि नवलपरासीकै मुडावासमा भुसालले तीन बिघा जमीन थपे। चार कट्ठा पुर्ख्यौली जमीनबाट अहिले उनको जमीन १५ बिघा नाघेको छ। तीन ठाउँमा गरेर एक लाख १५ हजार लेयर्स छन्। भुसालका अनुसार श्रीमती सविना र छोरा शिवले अहिले व्यवसायमा सघाएका छन्। तीन स्थानमा गरेर ५५ मजदूरले काम पाएका छन्। 

पछिल्लो समय नोक्सानी बढेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। बैंकको ऋण तिर्न गाह्रो परेकोमा चिन्ता व्यक्त गर्दै उनले बैंकका प्रबन्धक पदम पौडेलतर्फ हेर्दै हरेश भने नखाएको बताए। पढाइका बारेमा जिज्ञासा राख्दा सानो हुँदा पढाइमा खासै ध्यान नगएको उनले बताए। उनले भने, “मैले कक्षा ५ सम्ममात्र पढेको हो, त्यही लेख्दिनुहोस्।” 

"थोरै पढेकामा लुकाउनु पर्ने र चिन्ता छैन", उनले भने, “निरन्तर परिश्रम गर्‍यो भने स्वदेशमै राम्रो गर्न सकिन्छ।” उथलपुथल बनेको बजार, रोगको प्रकोप र बढेको गर्मीले यो पेशालाई निरन्तरता दिन कठिन हुने हो कि भन्ने चिन्ता भुसालमा रहेको छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।