काठमाडौं - सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ। यौन दुर्व्यवहार आरोप लागेपछि सत्तारूढ नेकपा सचिवालयको निर्देशनमा उनले मंगलबार पदबाट राजीनामा दिएका थिए।
संघीय संसद् सचिवालयले बुधबार सूचना टाँस गरी उनको राजीनामा स्वीकृत भएको जनाएको छ। सचिवालयको सूचनामा भनिएको छ, ‘माननीय उपसभामुखज्यूको आदेशअनुसार प्रतिनिधि सभा नियमावली २०७५ को नियम २११ को उपनियम २ बमोजिम यो सूचना प्रकाशित गरिएको छ।’
उपनियम २ मा 'सभामुखले पदबाट दिएको राजीनामा संसद् बैठक चलेका बेला अध्यक्षता गर्ने व्यक्तिले बैठकमा पढेर सुनाउनेछ। बैठक चालू नरहेको अवस्थामा सूचनापत्रमा प्रकाशन गरिनेछ।' भन्ने व्यवस्था छ।
सभामुख महराले उपसभामुखलाई सम्बोधन गर्दै राजीनामा दिएका थिए। यो सँगै अब संघीय संसद् सभामुखविहीन भएको छ।
