काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षा अवस्था बुझ्न चिनियाँ सुरक्षा अधिकारीको विशेष टोली केहीबेरमा त्रिभुवन विमानस्थलमा अवतरण हुँदै छ। सुरक्षा अधिकारीहरूसहितको विशेष विमान आउन लागेको उच्च स्रोतले बतायो। विमान साढे १ बजे अवतरण हुने कार्यतालिका छ।
विमानस्थल स्रोतका अनुसार त्रिभुवन विमानस्थलको अवस्था, राजधानीको सुरक्षा व्यवस्था, राष्ट्रपति सी बस्ने होटल, आवातजावत गर्ने सवारी रुट तथा उच्चस्तरीय भेटघाटका लागि तय गरिएको ठाउँहरूको समेत विशेष निरीक्षण चिनियाँ टोलीले गर्नेछ। चिनियाँ राष्ट्रपति सी असोज २७ गते नेपालको राजकीय भ्रमणमा आउने तय भएको छ। तर यसलाई परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावास दुवैले औपचारिक पुष्टि गरेका छैनन्।
परराष्ट्र अधिकारी र चिनियाँ राजदूतले भने छिट्टै उच्चस्तरीय भ्रमण हुने बताउँदै आएका छन्। सुरक्षा चुनौती हुनसक्ने भन्दै दुवै पक्षले सीको नेपाल भ्रमण कार्यतालिका सार्वजनिक नगरिएको उच्च सुरक्षा स्रोतले बताएको छ।
राष्ट्रपति सी चाइना एयरलाइन्सको एयरबस सिरिजको ७४७– ८०० विमानमा काठमाडौं आउने कार्यक्रम छ। सोही विमानले बुधबार परीक्षण उडान गरेको हो। विमान आजै फर्कनेछ। ३ सय ६५ जना यात्रु क्षमता रहेको दुईतले विमानको उडान तथा अवतरणपछि मात्र चिनियाँ राष्ट्रपतिको उडान तय हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४