शनिबार, साउन ३०, २०८३

कर्मले चम्किएका कुल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा सामाजिक अभियन्ता कुल आचार्यले एनआरएनए अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

बेलायतमा चेन रेस्टुराँ सञ्चालक र रियलस्टेट व्यवसायमा संलग्न आचार्यको नेपालमा जलविद्युत्, बैंकिङ, सिमेन्टलगायतका उद्योगमा लगानी छ। 

सामान्य पारिवारिक पृष्ठभूमिका कुल उनकै मेहनत र कर्मका कारण नेपाली डायस्पोरमा स्थापित व्यक्ति हुन्। 

“अहिलेको अवस्थामा आइपुग्न मैले लामो संघर्ष गरेको छु । संघर्ष अझै जारी छ,” आचार्य भन्छन्, “म परिश्रम र पौरखले स्थापित भएको हुँ ।” यतिबेला उनी विश्वव्यापी चुनावी दौडाहामा छन्।

पर्वतको विकट गाउँ धाइरिङमा जन्मिएका आचार्यले बेलायतलाई आफ्नो कर्मभूमि बनाएको दुई दशक बित्यो । 

संघर्षपूर्ण बाल्यकाल

पर्वतको धाइरिङदेखि बेलायतसम्मको आचार्यको यात्रा पक्कै पनि सहज थिएन । 

पारिवारिक जिम्मेवारी वहन गर्ने क्रममा १२ वर्षकै उमेरमा उनको विवाह भयो। पढ्ने उमेरमा परिवारको जेठो छोराको जिम्मेवारीले थिचिएका कुलले सानैमा पतिको दायित्व पनि निर्वाह गर्नुपर्‍यो । 

विवाहको दुई वर्षमै पत्नी मोनाको निधन भएपछि उनको जीवनमा संघर्षका अनेकन् अध्याय सुरु भए।

जुन स्कुलमा पढे, त्यसैमा पढाए 

२०१८ सालतिर पर्वतको धाइरिङ गाउँमा एउटै विद्यालय थिएनन्। 

कुल आचार्यका बुवा ज्योतिष पण्डित धर्मनाथको पहलमा स्थापना भयो, कृष्ण भवन प्राथमिक स्कुल। 

आचार्यले पनि कृष्ण भवन प्राविमै कक्षा–७ सम्म अध्ययन गरे। माझफाँट माविबाट एसएलसी पास गरेका आचार्य प्रवीणता तह (आइए) अध्ययनका लागि बागलुङस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए। 

तर, आइए पढ्दापढ्दै आचार्यले अर्को वियोग व्यहोर्नुप¥यो। उनका बुवा धर्मनाथको निधन भएपछि पढाइ रोकेर उनी गाउँ फर्किए। उनी भन्छन्, “अरू कुनै विकल्प थिएन, बुवाको निधनपछि गाउँ फर्किएँ, अनि पढाउन थालें ।” 

बेल्जियम हुँदै बेलायत

परिवारलाई लागेको ऋणको बोझ र अभावकबीच दिन बित्दै थिए । यसबीच उनका साथीहरु विदेश जाने भए । उनी साथीहरुलाई विदेश पठाउनका लागि काठमाडौं आएका थिए तर, साथीहरुले सँगै जाऊँ भनेर हौस्याएपछि कागजपत्र मिलाएर साथीहरुसँगै बेल्जियमतर्फ लागे । 

बेल्जियम आचार्यका लागि ‘ट्रान्जिट’ जस्तो मात्रै भयो। उनी तीन महिनामै त्यहाँबाट जर्मनी गए । तर, भाषाको ज्ञान नहुँदा जर्मनीको बसाइ सहज भइदिएन । त्यसको दुई वर्षपछि उनी नेपालीहरु धेरै रहेको बेलायत हानिए।  

“बेलायत पुगेपछि गाउँकै दाइहरुले सुपरमार्केटमा काम खोजिदिनुभयो, हप्ताको २५० पाउन्ड तलब आउने भयो,” बेलायतमा सुरुवाती दिन सम्झँदै आचार्य भन्छन्, “तर सुपरमार्केटमा पनि मैले धेरै समय काम गरिनँ, मेरो लक्ष्य सेफ बन्ने थियो।”

हेल्परबाट मालिकसम्म

एक दिन सेफ बनेरै छाड्ने अठोटका साथ लन्डन छिरेका कुल अन्ततः त्यही क्षेत्रमा स्थापित भए । रातदिनको अथक संघर्षले नै अहिले सफल व्यवसायी बनेका छन् उनी ।

सुरुमा रची नामको रेस्टुराँमा साताको ८० पाउन्डमा काम गर्न थाले आचार्यले। त्यसमा उनको एउटै लक्ष्य थियो– किचनमा पनि सहयोग गर्ने र सेफ बन्ने।

आचार्यका अनुसार रचीमा तीन महिना काम गरेपछि उनी बम्बई बाइसाइकल क्लब नामको अर्को रेस्टुराँमा किचन हेल्परको जिम्मेवारी सम्हाल्न थाले। बम्बई बाइसाइकलको ६ वर्षे करियरमा उनी हेल्परबाट हेड सेफ बन्न सफल भए। 

“जतिसम्म गर्न सकिन्थ्यो, कुनै कसर बाँकी नराखी गरें,” कुल भन्छन्, “त्यसकै प्रतिफल अहिले बेलायतमा धेरै साथीहरु कमाएको छु, विश्वभरिका गैरआवासीय नेपाली साथीहरुको माया पाएको छु, धनसम्पत्ति मात्रै सबै कुरा होइन।”

६ वर्षसम्मको अनुभव, लगन र परिश्रमले बेलायतको समाजमा आचार्यको ख्याति बढिरहेको थियो। त्यसबीचमा ‘इभिनिङ स्ट्यान्डर्ड’ पत्रिकाले आचार्यको कर्मकथा छाप्यो। 
किचन हेल्परबाट हेड सेफ भएर नाम कमाएका कुलको सफलताको कथा लेखिन एउटा खुट्किलो मात्रै बाँकी थियो। 

सन् २००६ आचार्यको जीवनमा नवीन ऊर्जा र लक्ष्य पूरा गर्ने वर्ष बनिदियो। सोही साल उनले रेस्टुराँ सञ्चालनमा ल्याए। 

आचार्यले अफगानिस्तानका एक व्यवसायीसँग साझेदारी गरेर ‘होली काऊ टेकवे’ रेस्टुराँ सुरुआत गरे। आफैं मालिक भएको चार वर्षपछि होली काऊ रेस्टुराँका सात वटा शाखा विस्तार गरे। 

सन् २०१३ मा बेलायती सांसदहरु रहेको टिफिन क्लबले प्रदान गर्ने अवार्डबाट सम्मानित भइसकेको होली काऊलाई युरोपभरि विस्तार गर्ने उनको लक्ष्य छ। “पोर्चुगलमा फ्रेन्चाइज सुरु भयो,” उनले भने।

६ जनाबाट सुरु भएको उनको रेस्टुराँमा अहिले २०० जनाले रोजगारी पाएका छन् । उनी नेपालमा पनि लगानी विस्तारको योजनामा छन् । 

गैरआवासीय नेपालीका पक्षमा
आचार्यले अहिले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहँदा उनका विषयमा चासो अरु बढेको छ। 

सन् २००३ देखि एनआरएनएमा आबद्ध आचार्य सन् २००७ देखि निरन्तर सक्रिय छन्। “गैरआवासीय नेपालीप्रति हाम्रो जिम्मेवारी छ, त्यही जिम्मेवारी पूरा गर्नै म संगठनमा सक्रिय रहँदै आएको हुँ,” उनले भने।

एनआरएनए बेलायतको सदस्य रहेर संगठनमा प्रवेश गरेका आचार्यले पछि सोही कमिटीको नेतृत्व गरे। सक्रियता बढ्दै जाँदा युरोप संयोजकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका आचार्य अहिले एनआरएनए उपाध्यक्ष छन्।

“एनआरएनलाई नागरिकता दिलाउनु छ, गोर्खा तथा अन्य विविध विषयहरुलाई सम्बोधन गर्नु छ,” आचार्य भन्छन्, “संघको नेतृत्व गर्दै ती योजना कार्यान्वयनतर्फ लानेछु।”  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।