काठमाडौं- सिंगापुरमा जारि त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपाल आज आफ्नो तेस्रो खेलमा टेष्ट राष्ट्र जिम्बावेसँग भिड्दै छ ।
खेल नेपाली समय अनुसार मंगलबार साँझ ५ः१५ बजे सुरु हुनेछ। यो खेल नेपालका लागि इतिहास रच्ने अवसरका रुपमा हेरिएको छ ।
प्रतियोगिताको पहिलो खेलमा जिम्बावेसँग नै ५ विकेटले पराजित भएको नेपाललाई यो बदला लिने मौका समेत हो। आफ्नो पहिलो खेलमा भोगेको हारको बदला लिने लक्ष्यका साथ नेपाल मैदानमा उत्रिने छ।
नेपालले जिम्बावेलाई हराउन सके उपाधि जित्ने संभावना बलियो बन्ने छ। अर्को तिर नेपाली सिनियर टोलीले एकदिवसीय र टी–२० अन्तरास्ट्रियमा टेष्ट राष्ट्रलाई पराजित गर्न सकेको छैन।
पछिल्लो समय खराब लयमा देखिएको जिम्बाबेलाई पराजित गर्न सके नेपाल सामु इतिहास रच्ने अवसर समेत छ। त्यसैले दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले पराजित गरेको नेपाल जिम्बावेविरुद्द पनि निरन्तरता दिन चाहन्छ।
यता पहिलो खेलमा जित निकालेको जिम्बावे आफ्नो दोश्रो खेलमा भने सिंगापुरसँग ४ रनले स्तब्ध हुन पुग्यो। त्यसैले दुबै खेलको प्रर्दशनले नेपालको मनोबल उच्च छ। नेपालाका लागि कप्तान पारस खड्का लयमा छन्।
उनी टी–२० मा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन्। त्यस्तै उनले लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गर्ने पारस विश्वकै पहिलो कप्तानको कीर्तिमान समेत बनाएका छन्।
सिंगापुरसँगको खेलमा पारस र आरिफ शेखले दोस्रो विकेटका लागि अविजित १ सय ४५ रनको साझेदारी गरेका थिए। जुन हाल सम्मकै टी(२० मा नेपालले गरेको उच्च साझेदारी हो। तर नेपालको ओपनिङ भने फेरिन सकेको छैन।
त्रिकोणात्मक सिरिजमा पहिलो चरणको ३ खेल सकिंदा नेपाल शीर्ष स्थानमा छ। तीन टोलीको समान २ अंक भएपनि नेट रन रेटका आधारमा नेपाल शीर्ष स्थानमा रहेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४