काठमाडौं- प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले बलात्कारको आरोप लगाएकी छन् ।
संसद सचिवालयमा काम गर्ने ती महिला कर्मचारीले महरा आइतबार राति उनकै डेरामा गएर बलात्कार गरेको आरोप लगाएकी हुन् ।
महिलाका अनुसार आइतबार राति महराले ती कर्मचारीलाई फोन गरेर आफू उनको तीनकुनेस्थित डेरामा आउन लागेको बताएका थिए।
महिलाले भनेकी छन्, “उहाँले फोन गरेर म कोठामा आउँछु भन्नुभयो । मेरो श्रीमान तनहुँ जानु भएको थियो । मैले अहिले नआउनुहोस, आउने नै भए ड्रिंक्स नखाइकन आउनु होला भनें । उहाँ ८ बजे मेरो कोठामा आउनु भयो । उहाँ खाएर आउनु भएको थियो ।”
महिलाका अनुसार महराले उनको कोठामा पुगिसकेपछि पनि मदिरा सेवन गरेका थिए । त्यसपछि महिलामाथि हातपात र करणी गरेका थिए ।
“उहाँले मुक्काले हान्नुभयो । लडाउनु भयो ।” ती महिला कर्मचारीले भनेकी छन् ।
उनले आफूमाथि बलात्कार भएको कुरा नेकपाका महिला नेतृहरु ओनसरी घर्ती र पम्फा भुसाललाई पनि जानकारी गराएको बताएकी छन् ।
महराले सोमबार बिहान पटक पटक फोन गरेको र ‘फरगेट एस्टरडे’ भन्ने सन्देश पठाएर आइतबारको घटना विर्सन भनेको ती महिलाको दाबी छ ।
सभामुख महराले ती महिलामाथि बलात्कार गरेको भनिएको समाचार सोमबार साँझ पहिलो पटक
हाम्राकुरा डट कमले प्रकाशित गरेको थियो ।
बलात्कार लगत्तै प्रहरीलाई खबर गरेको र तीनकुने प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले राति नै आई घटना विवरण संकलन गरेको पनि महिलाको भनाई छ ।
प्रहरी स्रोतका अनुसार महिलाको कोठामा रक्सीको बोत्तल, गिलास र कपडाहरु लथालिंग अवस्थामा थिए । महिलाको शरीरमा चोटको निलडाम समेत थियो । ती महिलालाई तीनकुने प्रहरी वृत्तमा आएर जाहेरी दिन भनिए पनि उनले सोमबार साँझसम्म जाहेरी भने नदिएको प्रहरी स्रोतले बताएको छ ।
स्रोतका अनुसार घटनाबारे प्रहरीले सोमबार राति नै गृहमन्त्रालयमा जानकारी गराएको छ । राति अबेर गृह मन्त्री, गृह सचिव र प्रहरी प्रमुखबीच छलफल भएको छ ।
महराको सचिवालयले भने सोमबार राति विज्ञप्ति जारी गरी आरोपको खण्डन गरेको छ ।
महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जारी गरेको विज्ञप्तिमा ती महिलाको आरोप निराधार, कपोलकल्पित र निकै गम्भीर भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘... हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ, त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यस्तै समाचारमा आएको जस्तो जस्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु ।’
विज्ञप्ति:
