काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं, तिहार र छठको उपलक्ष्यमा चियापानको आयोजना गर्दैछ।
असोज २९ गते हुने चियापान कार्यक्रम गतवर्षको भन्दा दोब्बर भव्य हुने भएको छ। गत वर्ष नेकपाले पचास हजार जनालाई निमन्त्रणा गरेको थियो। यस वर्ष नेकपाले एक लाख जनालाई कार्ड वितरण गर्दैछ।
नेकपा पार्टी कार्यालयका सचिव इश्वर रिजालका अनुसार चियापानका लागि एक लाख जनालाई आमन्त्रण गरिँदैछ।
उनले नेकपाका नेता तथा कार्यकर्ताहरु आयोजक भएकोले उनीहरुलाई कार्ड वितरण नगरिने बताए।
भृकुटी मण्डपमा हुने चियापान दिउँसो १२ बजेदेखि ५ बजेसम्म चल्नेछ।
रिजालका अनुसार पहिलेदेखि नै बोलाइदै आएका व्यक्तिहरुलाई बोलाउनका साथै थप ५० हजारलाई बोलाइनेछ।
मन्त्रीहरु, सांसदहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाज, कलाकारलगायतकाहरु कार्यक्रममा सहभागी हुने छन्।
कार्यक्रमको निम्ते पत्रमा अध्यक्ष द्वयले हस्तारक्ष गरी वितरण गरिने रिजालले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४