काठमाडौं- केहि दिनदेखि वर्षासँगै धुम्मिएको मौसम भोलि (सोमबार)बाट क्रमशः सुधारिने भएको छ । भोलिबाट वर्षाको सम्भावन कमजोर बन्दै जाने मौसमविद्हरुले बताएका छन् ।
फुलपातिको दिनसम्ममा मौसम उघारिने र वर्षाको सम्भावना पनि कमजोर हुने मौसमविद् वरुण पौडेलले नेपाल समयसँग बताए । उनले भने- 'फुलपातिसम्ममा मौसम सफा हुन्छ । आतिनु पर्दैन ।'
मौसम पूर्वानुमान महाशाखाले सामान्यता तीन दिनको मात्र पूर्वानुमान गर्दै आएको छ। त्यसैले फूलपातिदेखि टिकाको दिनसम्मको अवस्था के हुन्छ भनेर ठ्याक्कै भन्न कठिन भएपनि अहिले जस्तो अवस्था भने नरहने मौसमविद् पौडेलले बताए । उनले भने- 'अर्को सिस्टम तत्काल विकास हुने सम्भावना नदेखिएको मौसम सफा हुनेछ ।'
आज भन्दा भोलि र भोलिभन्दा पर्सी मौसम क्रम सुधारिदै जाने र घाम लाग्ने उनले जानकारी दिए । यद्यपी आज भने काठमाडौं उपत्यका लगायत पूर्वी क्षेत्रमा वर्षाको सम्भावना छ ।
अहिले पनि आकाशमा मनसुनी वायु रहेका कारण आज साझ र राति काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा वर्षा हुनेछ । अहिले धुम्म देखिएको मौसम आज दिउसो पनि करिब यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् पौडेलका अनुसार मनसुन सकिन भने अझै करिब एक हप्ता लाग्ने देखिएको छ। सेप्टेम्वर २३ मा मनसुन सकिने भए पनि गएको वर्ष अक्टोबर ५ सम्म नेपालमा मनसुन रहेको थियो । यसवर्ष पनि अक्टोबर ५ बाटै मनसुन विदा हुनसक्ने उनले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४