काठमाडौं- सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि १ सय ५२ रनको लक्ष्य पाएको छ।
इन्डियन एसोशियसन मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रन जोडेको थियो।
सिंगापुरका लागि कप्तान टिम डेभिडले अर्धशतकीय पारी खेले। उनले ४४ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६४ रनको अविजित अर्धशतकीय पारी खेलेका हुन्।
त्यस्तै जनक प्रकाशले १८ बलमा ३ चौका र एक छक्का प्रहार गर्दै २५ रनमा अविजित रहे।
सुरेन्द्र चन्द्रमोहनले ३५ रन जोडे। उनले २६ बलमा ५ चौका र एक छक्काको मद्दतमा ३५ रन जोडेका हुन्।
मनप्रित सिंह १५ र रोह रंगराजन ६ रनमा पेभिलिएन फर्किए। नेपालका लागि करन केसीले दुई विकेट लिए। उनले चार ओभर बलिङ गर्दै ३४ रन खर्चेर दुई विकेट लिएका हुन्।
त्यस्तै अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सिंगापुरविरुद्धको खेलमा डेब्यु गरेका सुशान भारीले एक विकेट लिए।
मध्य क्रमका ब्याट्सम्यान सन्दीप जोराको स्थानमा पहिलो पटक टी–२० खेलेका भारीले चार ओभरमा २७ रन खर्चदै एक विकेट लिएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४