काठमाडौं - नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने प्रतिबद्धता जाहेर गरिने भएको छ। आगामी सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सो घोषणा गर्न लागिएको हो।
सो विषयमा बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले यो अभियान गाउँगाउँसम्म पुग्नु नै उपलब्धिपूर्ण भएको बताइन्। देशमा विभिन्न किसिमका कठिनाइ हुँदाहुँदै पनि आम मानिसमा चेतना बढ्दै गएको उनले बताइन्। मन्त्री मगरले भनिन् , “कतिपयले विदेशबाट कमाएर ल्याएको पैसाले त कतिले गहनासमेत बेचेर शौचालय बनाएका छन्।”
मन्त्रालयका सचिव माधव बेल्बासेले यो अभियान तत्कालका लागि मात्रै नभएर दीर्घकालीन महत्वको भएको बताए। आम जनताका बानीमा एकैपटक परिवर्तन ल्याउन नसकिएको र बाढी तथा पहिरोलगायत प्रकृतिक प्रकोपले पनि अभियानमा बाधा पुर्याएको उनले बताए।
सरकारले २०६८ देखि खुला दिसामुक्त क्षेत्र घोषणा सुरु गरेको हो। विसं २०६९ मा कास्की नेपालको पहिलो खुला दिसामुक्त जिल्ला घोषणा भएको थियो। सरकारले चालु आवको नीति तथा कार्यक्रममा देशका बाँकी सबै पालिका र जिल्ला खुला दिसामुक्त घोषणा गरेको थियो।
अहिले देशका झण्डै सबै घरधुरीमा सरसफाइको आधारभूत सुविधा तथा शौचालयको पहुँच पुगेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति सचिवालयले जनाएको छ। देशभर कूल ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय निर्माण भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४