शुक्रबार, साउन २९, २०८३

सरकारले किन रोक्यो आईजीपीको अमेरिका भ्रमण ?   

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सरकारले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको अमेरिका भ्रमण रद्द गरिदिएको छ। अक्टोबर २६ देखि  २९ सम्म सिकागोमा  हुन लागेको विश्वका प्रहरी प्रमुखको सम्मेलनमा जान लागेका खनालको भ्रमण सरकारले रद्द गरेको हो।

स्रोतका अनुसार आईजीपी खनालको भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा रद्द गरिएको हो। 

पछिल्ला घटनाक्रमलाई लिएर प्रधानमन्त्री ओली आईजीपी खनाल प्रति असन्तुष्ट बनेका बताइएको छ। आत्महत्याको दुरुत्साहन आरोपमा पक्राउ परेका रवि लामिछानेलाई हिरासतमा भेटेको विषयलाई लिएर ओली सरकार खनालमाथि रुष्ट बनेको छ।

आईजीपी फेर्ने तयारी 

पछिल्ला केही घटनामा आईजीपी खनाललाई विवादमा  तानेर सरकारले उनलाई हटाउने रणनीति बनाएको छ। प्रहरीको सरुवा वढुवामा भएको आर्थिक लेनदेन तथा विवादको  दोष आईजीपीमाथि लगाएर नेकपा सरकार आफ्नो उद्देश्य पूरा गर्ने तयारीमा छ। खनाललाई हटाएर उनका सहब्याची पुस्कर कार्कीलाइ आईजीपी बनाउने चलखेल सुरु भएको स्रोतको दाबी छ।

गृहमन्त्री बादल नजिकका केही व्यक्ति, उनका सचिवालय सदस्य तथा आसेपासेको प्रहरीमा प्रभाव बढ्दै गएको छ। मुख्यालयबाट हुनुपर्ने सरुवा बढुवामा यो बाहिरी समूहको हाबी छ। चर्को आर्थिक लेनदेनबाट सरुवा बढुवा भैरहँदा आईजीपी खनालले त्यसको मुकाविला गर्न सकेका छैनन्।

आईजीपी खनालको दुईवर्षे कार्यकाल आगामी माघ २७ गते सकिँदैछ। गृहमन्त्री रामबहादुर थापाको आड पाएर आईजीपी बनेका खनाललाई  पूर्व एमाले समूहले  मन पराएको थिएन।

नेकपाका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको रोजाइमा परेका एआइजी पुस्कर कार्कीलाई आईजीपी नियुक्त गर्ने तयारी भएपनि बादलको अडानका कारण पूर्व एमाले समूह पछाडि हट्नु परेको थियो।

चुनावी एकतापछि बनेको ओली  सरकारले  पूर्व माओवादीको भागमा परेको गृहमन्त्रालय वैद्य समूह छाडेर माओवादीमा फर्किएका बादललाई मिलाउन गृहमन्त्री बनाउने सहमतिपछि पूर्व एमालेको पुस्कर कार्कीलाई आईजीपी बनाउने सपना पूरा हुन सकेन।

पुस्कर कार्की र सर्वेन्द्र खनाल कसलाई आईजीपी बनाउने भन्नेमा विवाद बढेपछि गृहमन्त्री थापा खनालको पक्षमा उभिए। प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च नेता बादलको योजना विफल बनाउने रणनीतिमा थिए। तर, बादलले अडान दोहोर्‍याउँदै गृहमन्त्री पद नै त्याग्ने धम्की दिए। थापाको भनाइले पूर्व एमाले झस्कीयो र सरकार गठन र पार्टी एकतामा समेत अप्ठ्यारो पर्ने देखेपछि खनाललाई नै आईजीपी बनाउने  निर्णय भयो।

यतिबेला नेकपाको पूर्व एमाले समूहले आईजीपी खनालाई हटाएर बाँकी चार महिनाका लागि एआइजी पुस्कर कार्कीलाई आईजीपी बनाउने तयारी गरेको छ। कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्याको अनुसन्धान,  सुनकाण्डमा प्रहरीको गलत एक्सन, हिरासतमा रहेका अभियुक्त भेटेको विषय तथा पछिल्लो समय बढ्दै गएको अपराध र खस्किँदै गएको शान्तिसुरक्षामाथि प्रश्न उठाउँदै आईजीपी खनाललाई हटाउने तयारी ओली सरकारको छ।

नेकपा उच्चतहको समर्थन पाएका एआइजी पुस्कर कार्कीलाई सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट मुख्यालय सरुवा गरेको छ।  प्रहरीका लत्ताकपडा, बन्दोबस्तीका सामान तथा प्रहरीले प्रयोग गर्ने जुत्तामा भ्रष्टचार भएको उजुरीको आधारमा अख्तियारले मुख्यालमा छापामारी कागजपत्र बरामद गरेसँगै एआइजी पुस्कर कार्कीलाई मुख्यालयमा सरुवा गरिएको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रहरीमा नेकपा प्रभाव 

नेपाल प्रहरीमा पछिल्लो समय नेकपा हाबी भएको छ। प्रहरीको बढुवा तथा समान्य सरुवामासमेत नेकपा निकटका व्यक्ति पर्न थालेपछि प्रहरी महानिरीक्षक खनाललाई संगठनको चेनअफ कमाण्ड नै जोगाउ सकस भएको छ।

प्रहरी मुख्यालयबाट हुनुपर्ने सरुवा बढूवा  पर्दा पछाडिबाट आर्थिक लेनदेनमा हुन थालेपछि खनालको व्यवसायिक छविमाथि प्रश्न उठ्न थालेको छ। गृहमन्त्री राम बहादुर थापाका सचिवालय सदस्यहरु पैसामा प्रहरीको बर्दी किनवेच गर्न थालेको भन्दै प्रहरी संगठनमै खनालमाथि असहयोग गर्ने समूह बढ्दै गएपछि खनाल अप्ठ्यारोमा परेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।