काठमाडौं– गत आइतबार काठमाडौको एक मनिट्रान्सफरमा भएको लूटको अनुसन्धान गरिरहँदा प्रहरीले कृषि विकास बैंकबाट पनि ठूलो रकम चोरी भएको पत्ता लगाएको थियो ।
असोज ५ गते नयाँ बानेश्वरस्थित पानस रेमिटबाट विभिन्न व्यक्तिको नाममा अस्वाभाविक रुपले रु. १२ लाख गएको देखिएपछि रेमिटले प्रहरी गुहारेको थियो । रेमिटमा कार्यरत सुमिना धितालको नामबाट २० विभिन्न व्यक्तिका नाममा रु ६० हजारका दरले रकम ट्रान्सफर भएको थियो ।
उक्त रकम जब फरक फरक व्यक्तिले झिक्न थाले तबमात्र रेमिटले अस्वाभाविक गतिविधि भएको थाहा पायो। त्यती बेलासम्म तीन जनाले कुल १ लाख ८० हजार रुपैयाँ निकालिसकेका थिए ।
चौथो व्यक्ति थिइन रसुवा नौकुण्ड–५ की लक्ष्मी तामाङ । रकम निकाल्ने व्यक्तिको खोजीमा रहेको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले लक्ष्मीलाई रकम निकाल्दै गर्दा नयाँ बानेश्वरबाट नियन्त्रणमा लियो ।
लक्ष्मीले प्रहरीलाई नुवाकोटका लवाङ तामाङलाई आफूले सापटी दिएको रकम लिन उनले अह्राए अनुसार नै लिन आएको बताएपछि प्रहरी नुवाकोटसम्म पुग्यो ।
लवाङ पक्राउ परेपछि भने पानसका कर्मचारीको नामबाट अनधिकृतरुपमा संस्थाको रकम अरु व्यक्तिको नाममा पठाउने व्यक्तिलाई पक्राउ गर्ने योजना बनाएर नुवाकोट पुगेको प्रहरीको अनुसन्धानले नयाँ मोड लियो।
महाशाखा प्रमुख एसएसपी सहकुल थापा भन्छन “हाम्रो अनुसन्धान पानस रेमिटबाट विभिन्न व्यक्तिको नाममा कसरी रकम ट्रान्सफर भयो भन्नेमै केन्द्रित थियो।” तर, प्रहरीले जसै ४ जनाले निकालेको रु. २ लाख ४० हजारबारे सोधपुछ गर्दा हडबडाएका लवाङले आफूसँग थप रु. ३० लाख रहेको खुलाए ।
त्यसपछि प्रहरी यो घटनामा ठूलै नेक्सस संलग्न रहेको निष्कर्षका साथ थप अनुसन्धानमा लाग्यो ।
एक महिनादेखि बैंक बेखबर
महानगरीय अपराध महाशाखाले अनुसन्धान अघि बढाउँदै जाँदा पानस रेमीटसँगै कृषि विकास बैंकको लहान शाखाबाट समेत रकम चोरी भएको सुइँको पायो ।
भदौ ३ गतेदेखि नै बैंकबाट अनधिकृतरुपमा ठूलो रकम निकालिएको थाहा पाएको प्रहरीले बैंकसँग कारोबारको विस्तृत विबरण माग्यो । तर, आफ्नो रकम चोरी भइरहेको थाहा नपाएको बैंकले प्रहरीले भन्दा समेत वास्ता गरेन ।
त्यसपयिछ लवाङको खातामा रहेको रु. ५० लाखको स्रोत खोजिरहेको प्रहरीले कृषि विकास बैंकको लहान शाखा ह्याक भएको निष्कर्ष निकालेर खाता जाँच गर्न बैंकलाई आग्रह गर्यो । नभन्दै बैंकले लहान शाखाको एलपी (लस एण्ड प्रफिट) खाता जाँच गर्दा रु. ४ करोड ७३ लाख ९३ हजार विभिन्न ११ व्यक्तिको खातामा गइसकेको देखियो । त्यसपछि मात्रै बैंक झस्कियो ।
प्रहरीका अनुसार कृषि विकास बैंकको चितवन, सौराहा शाखाको युजर नेम र पासवर्ड प्रयोग गरी लहान शाखाको कम्प्युटरबाट रकम ट्रान्सफर भएको जनाएको छ ।
ट्रान्सफर भएको रकममध्ये अधिकांश कृषि विकास बैंकको नुवाकोट शाखाबाट निकालिएको छ । उक्त रकममध्ये रु १५ लाख कैलास विकास बैंकको काठमाडौं मुख्य शाखामा गएको प्रहरीको भनाई छ ।
अहिले प्रहरीले कृषि विकास बैंक, लहान शाखाका प्रमुख रामसेवक यादव सहित ७ जनालाइ नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ भने, बैंकको काठमाडौं केन्द्रीय कार्यालयको प्राविधिक टोली अनुसन्धानका लागि लहान पुगेको छ ।
बैंकको सिष्टम ह्याक (प्रणालीमा छेडखानी) गरी बाहिरबाटै चोरी भएको हो वा कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको भन्नेबारे अनुसन्धान जारी रहेको महाशाखाले जनाएको छ ।
मुम्बईमा छन् मुख्य योजनाकार
प्रहरीका अनुसार बैंकको रकम चोरीको योजना बनाउने मुख्य व्यक्ति भारतको मुम्बईमा बस्ने अफ्रिकी मुलका काले भनिने पिटर हुन् ।
पिटरले नेपालमा आफ्ना एजेन्ट खडा गरी बैंकको रकम चोरी गरेको प्रहरीको भनाई छ । पीटरको एजेन्ट भई रकम चोरीमा संलग्न भएको आरोपमा प्रहरीले नुवाकोटको मेघाङ गाँउपालिका–४ का लवाङ तामाङ, सर्लाही हरिवन–२ का पुष्पराज खडका, लमजुङ दोर्दी–३ का विद्यासागर लामिछाने, तनहुँको भानु– ९ का श्रवणकुमार श्रेष्ठ, भक्तपुर ठिमी–४ की सुनिता श्रेष्ठ, कैलाली भजनी–३ का विजय साह, चन्द्र बहादुर बुढा तथा भारतीय नागरिक शुबन्कर पन्जालाई पक्राउ गरेको छ ।
पिटरले उनीहरुलाई मुम्बईमा बोलाएर अनधिकृत रुपमा रकम ओसारपसारको तरिकाबारे प्रशिक्षण समेत दिएको प्रहरीको दाबी छ ।
पिटरले बैंकको सिष्टम ह्याक गरी नेपालमा रहेका उसका एजेन्टका खातामा रकम पठाउने र उक्त रकमबाट एजेन्टले ३५ प्रतिशतसम्म कमिशन राखेर बाँकी रकम हुण्डीमार्फत मुम्बई पठाउने योजना समेत प्रहरीले पत्ता लगाएको छ ।
काठमाडौंको न्यूरोडमा सुन पसल संचालन गर्ने भारतीय नागरिक शुबन्कार पन्जा मार्फत १० लाख रुपैयाँ मुम्बइ पुगिसकेको प्रहरीले जनाएको छ ।
नेपाली भाषाको समेत सामान्य ज्ञान भएका पिटर केही समय पहिले काठमाडौं आएको र यहीं रहँदा नै उनले नेपाली एजेन्ट तयार पारेको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार पिटरले नेपालका बैंकहरुबाट रु. ५ अर्ब चोरी गर्ने योजना बनाएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४