हेटौंडा - हेटौंडामा एक गाँजा तस्कर चालकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। चुरियामाई नयाँ बस्तीमा प्रहरीले गाँजा बोकेको ट्रक जाँच गर्ने क्रममा ट्रकमा चढेका प्रहरीसमेतलाई लिएर भागेका चालकलाई प्रहरीले पिछा गर्दै गोली प्रहार गरी नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा विरगञ्ज महानगरपालिका-२९ का अफ्रिका चौधरी रहेका छन्। प्रहरीले उनको देब्रे खुट्टामा दुई राउण्ड गोली प्रहार गरेको छ।
मंगलबार पूर्वपश्चिम राजमार्गको हेटौंडा–१५ रातोमाटे पोष्टमा चेकजाँचका लागि चढेका प्रहरी जवान सञ्जीवकुमार दासलाई समेत लिएर भागेपछि प्रहरीले ट्रकको पिछा गरेको थियो। हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक सुरक्षा जाँच गर्ने क्रममा ट्रकका चालक चौधरीले प्रहरी जवानसहित भगाएका थिए।
चालक चौधरी र ट्रकमा रहेका अर्का एक व्यक्तिले चुरियामाई नयाँ बस्तीमा ट्रक रोकेर प्रहरी जवानलाई लछारपछार गर्दै जंगल तर्फ लैजादै गर्दा प्रहरीले उनको पिछा गर्दै गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। अर्का एकजना भने फरार रहेका र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले ट्रकमा रहेको ७८ किलो ८ सय ग्राम गाँजा बरामद गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४