जनकपुरधाम – नेपाली कांग्रेसले जनकपुरसहित प्रदेश २ का सबै जिल्ला सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गरेको छ। दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम समापनको अवसरमा केन्द्रको निर्देशनअनुसार कांग्रेसले मंगलबार विरोध प्रदर्शन गरेको हो।
जनकपुरमा कांग्रेसले सरकारले प्रस्ताव गरेको नागरिकतासम्बन्धी विधेयक खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ। नागरिकता विधेयक मधेश विरोधी रहेको भन्दै प्रदर्शनमा सहभागी नेता कार्यकर्ताले खारेज गर्न माग गरेका हुन्।
नागरिकता विधेयकका साथै कांग्रेसले संविधान संशोधन प्रक्रिया तत्काल अघि बढाउन माग गरेको छ। वाक् स्वतन्त्रताको घाँटी निमोठ्ने गरी ल्याइएको सञ्चार विधेयकसमेत खारेज गर्न उसले माग गरेको छ।
प्रदर्शनका सहभागीहरुले भ्रष्टाचार, महंगीलगायत सर्वसाधारणको दैनिकीसँग जोडिएका महत्वपूर्ण सवालहरु नियन्त्रण गर्न नसकेको भन्दै सरकारकोविरुद्धमा चर्को नाराबाजी गरेका थिए।
जनकपुरको पिडडिया माइस्थानस्थित पार्टी कार्यालयबाट निस्केको जुलुस मुरली चोक, राम चोक, शिव चोक, भानु चोक हुँदै रेलवे स्टेशन पुगेर कोणसभामा परिणत भएको थियो।
केन्द्रबाट खटेका कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले दुई तिहाइको दम्भमा सरकार जनताको लोकतान्त्रिक अधिकार खोस्न उद्यत् भएको आरोप लगाए। सरकारले प्रस्ताव गरेको नागरिकता, प्रेसलगायतका विधेयकहरु लोकतान्त्रिक मूल्य मान्यताविपरित रहेको भन्दै उनले तत्काल फिर्ता हुनुपर्ने जिकिर गरे ।
‘सरकारले आमनागरिकलाई शान्ति सुरक्षा दिन सकेको छैन्, भ्रष्टाचार र महंगी हरेक दिन बढेको छ’, उनले प्रश्न गरे,‘के यसकै लागि जनताले दुई तिहाई मत दिएको हो त?’
नेपाली कांग्रेस धनुषाको आयोजनामा निकालिएको विरोध प्रदर्शनमा केन्द्रीय सदस्य रामकृष्ण यादव, प्रतिनिधिसभा सदस्य मिनाक्षी झा, राष्ट्रियसभा सदस्य मुक्ता यादव, केन्द्रीय प्रतिनिधि सुष्मा तिवारीलगायतका नेताहरुको सहभागिता रहेको थियो।