काठमाडौं - स्वच्छ मासुको प्रचारका लागि बनाएको पोस्टरमा गाईको तस्बिर राखेकोमा पशु सेवा विभागले माफी मागेको छ। विभागले सार्वजनिक गरेको ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ भन्ने पोस्टरमा गाईको तस्बिरसमेत परेपछि विभागले विज्ञप्ति जारी गर्दै माफी मागेको हो।
विभागका महानिर्देशक डा. वंशी शर्माले पोस्टरमा छपाईको त्रुटिका कारण गाईको तस्बिर भूलवश परेको भन्दै क्षमायाचना गरेका छन्।‘प्राविधिक कारणले हुन गएको त्रुटिप्रति पशु सेवा विभाग हार्दिक क्षमा याचना गर्दछ’, विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विभागको मोबाइल भ्यानमा पशुपन्छीजन्य उत्पादनहरू दूध, मासु, अण्डा, आदिको उत्पादन, प्रशोधन तथा उपभोगलाई गुणस्तरीय बनाउने हेतुले प्रचारका लागि राखिएको पोष्टरमा छपाईको त्रुटिका कारण गाईको तस्बिर परेको विभागले जनाएको छ। विभागको उक्त तस्बिरप्रति राप्रपालगायत सरोकारवाला पक्षबाट विरोध भएपछि विभागले आफ्नो ध्यानाकर्षण भएको भन्दै माफी मागेको हो। उक्त पोष्टर सच्याइएको विभागले जानकारी दिएको छ।
