काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ विदेश विभाग प्रमुख सोङ ताओले आज भेटवार्ता गरेका छन्। राजधानीस्थित होटल मेरिओटमा भएको भेटमा दुबै देशका कम्युनिष्ट पार्टीका गतिविधि बारे कुराकानी भएको थियो। अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गरेका थिए।
उनले दुई कम्युनिष्ट पार्टी बीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने बताए। प्रचण्डले भने, ‘नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने मैले विश्वास लिएको छुँ।’
चिनियाँ विदेश विभाग प्रमुख ताओले दुबै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए। उनले कम्युनिष्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिए। ‘देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ, ’ ताओले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४