जनकपुरधाम – सरकारी कागज किर्ते गरेको आरोपमा राजपाका दुई केन्द्रीय सदस्य जेल चलान भएका छन्।
किर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागज किर्ते गरेको आरोपमा पूर्वसांसद एवं राजपाका केन्द्रीय सदस्य बीपी यादव भनिने विश्वनाथ प्रसाद यादव र हरिनारायण मण्डल पूर्पक्षका लागि जेल चलान भएका हुन्।
यादव र मण्डलका साथै पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइतलाई पनि अदालतले पूर्पक्षको लागि कारागारमा राख्न आदेश दिएको छ। उच्च अदालत जनकपुर राजविराज इजलासले यादव, मण्डल र गोइतलाई सोमबार पूर्पक्षकालागि थुनामा राख्न आदेश दिएको हो।
सप्तरीको अग्निसाइ र कृष्णवरण गाउँपालिका तथा छिन्नमस्ता गाउँपालिकामा प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सञ्चालन गरेको सडक निर्माण योजनाका लागि किर्तेगरी उपभोक्ता समिति गठन गरेको र सरकारी कार्यालयको कागजात किर्ते गरेको आरोपमा राजपा केन्द्रीय सदस्यद्वय यादव र मण्डल ५ वैशाखमा पक्राउ परेका थिए।
गोइतले केन्द्रीय सदस्य यादव र मण्डलसँग मिलेर सरकारी कार्यालयको कागजात किर्ते गरी भ्रष्टाचार गरेको आरोप छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४