अछाम- नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशसरण महतले वर्तमान सरकारले प्रेस जगतको मुख थुनेर आमनागरिकको अधिकार कुण्ठित गर्न थालेको आरोप लगाएका छन्।
नेपाल प्रेस युनियन, अछामको सातौं जिल्ला अधिवेशनको मंगलबार मंगलसेनमा उद्घाटन गर्दै महतले सरकारले संचार माध्यमलाई निषेध गर्नकै लागि संसद्मा विधेयक ल्याएको दाबी गरे। “कसरी प्रेसको मुख थुन्न सकिन्छ भन्नेमा सरकार लागिपरेको छ,” उनले भने, “यो कुनै पार्टीको मात्र कुरा नभएर आम नागरिकको अधिकारलाई कुण्ठित गर्ने कुरा हो, त्यसैले कांग्रेस यसको बिरुद्धमा उभिएको छ।”
मिडियाबाट सरकारका गलत कामको पर्दाफास हुन थालेपछि सरकारले मिडियालाई नियन्त्रणमा राख्न खोजिरहेको उनको भनाई थियो। “मिडिया र सामाजिक सञ्जाल निषेध गर्न सक्यो भने जनता बोल्ने ठाउँमा हुँदैन भन्ने कुरा सरकारलाई थाहा छ,” उनले भने।
कांग्रेसको नेतृत्वमा देशमा ०४६ सालपछि आएको परिवर्तनले सूचना संचारको विकास भएको औँल्याउँदै महतले त्यसैको फलस्वरूप गाउँ-गाउँमा एफएम रेडियो खुलेको बताए।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वार लगायतले मन्तव्य राखेका थिए।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४