काठमाडौं- राजधानीबाट प्रकाशित पत्रपत्रिकाले आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)बीच भएको अन्तक्र्रियालाई पनि पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन्।
अन्नपूर्ण पोस्ट दैनिकले
चीनतिर ‘ढल्कियो’ नेकपा शीर्षकको समाचारलाई मुख्य बनाएको छ।
अन्नपूर्णले लेखेको छ- सत्तारुढ नेकपा चीनतिर ढल्किएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिनफिङ विचारधारा’बारे दुवै देशका कम्युनिस्ट पार्टीले काठमाडौंमा छलफल गरी भाइचारा सम्बन्ध स्थापना गर्ने घोषणा गरेका हुन्। दुई पार्टीले एक-अर्काका विचार, सिद्धान्त र प्रयोगलाई बुझ्ने तथा समाजवादको दिशातिर जाने रणनीतिक योजनाबारे छलफल चलाएका छन्।
नागरिक दैनिकले पनि सोही विषयलाई मुख्य समाचार बनाएको छ।
नागरिकले ‘चिनियाँ समाजवाद प्रेरणा’ शीर्षक दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तक्र्रिया कार्यक्रममा बोलेको कुरालाई प्राथमिकताका साथ प्रकाशित गरेको छ।
नागरिकले लेखेको छ- प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ मोडेलको समाजवाद नेपालका लागि प्रेरणा भएको बताएका छन्। नेपाली क्रान्तिको आफ्नै मोडल रहेको तथा नेपाल कम्युनिस्ट पार्टीको आफ्नै मौलिक सिद्धान्त रहेको चर्चा गर्दै उनले चिनियाँ समाजवाद नेपालका लागि प्रेरणा हुने बताए। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त विचार गोष्ठीमा सोमबार प्रधानमन्त्री ओलीले नेपाल चीनको विकास मोडेलको साझेदार बन्न चाहेको बताए।
कान्तिपुर दैनिकले भने पहिलो पृष्ठमा यससम्बन्धी तस्बिर प्रकाशित गरेको छ ।
कान्तिपुरले अन्तक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ कार्यक्रमस्थल राजधानीको होटल याक एण्ड यतिको लिफ्टबाट सहभागीका साथ ओर्लिँदै गरेको तस्बिर प्रकाशित गरेको छ।
कान्तिपुरले यससम्बन्धी समाचार पृष्ठ २ मा प्रकाशित गरेको छ।
कान्तिपुर दैनिकले
नागढुंगा सुरुङमार्ग ४२ महिनामा शीर्षकको समाचारलाई मुख्य बनाएको छ।
कान्तिपुरले लेखेको छ- नागढुंगा-सिस्नेखाला सुरुङमार्ग ४२ महिनाभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको छ। सडक विभागको वैदेशिक समन्वय महाशाखामा सोमबार जापानी कम्पनी हाज्मा/एन्डो जेभीसँग सम्झौता भएको हो।
नयाँ पत्रिका दैनिकले भने मेडिकल कलेजले तीन वर्षमा तीन अर्ब ठगी गरेको समाचारलाई ब्यानर बनाएको छ ।
नयाँ पत्रिकाले पनि नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीबीचको अन्तक्र्रियाको समाचारलाई पृष्ठ २ मा प्रकाशित गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४