काठमाडौं – श्री राम प्राथमिक विद्यालय पिपरडाढी पर्साका शिक्षक हरिओम कुमार साहसमेत चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले हरिओम कुमार साह, प्रधानाध्यापक रामवेलास प्रसाद पटेल र भुतपूर्व प्रअ महेश प्रसाद यादव(विद्यालय निरीक्षक) र राजेश्वर प्रसाद चौरसियाविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको छ।
उनीहरुले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा पाँच लाख ७९ हजार दुई सय १० रुपैयाँ अनियमितता गरेको पुष्टि भएपछि अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए।
कोइरालाका अनुसार जगरनाथपुर गाउँकार्यपालिकाको कार्यालय, जगरनाथपुर शिक्षा शाखामा राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धान हुँदा जगरनथापुर गाउँकार्यपालिकाको कार्यालय जगरनाथपुरका शिक्षा अधिकृत राजेश्वरप्रसाद चौरसियाले विभिन्न व्यक्तिहरूबाट गैर कानुनी आर्थिक लाभ लिएर नक्कली तथा गलत नियुक्तिपत्र दिएको खुलेको कोइरालाले जानकारी दिए।
नक्कली कागजातहरूका आधारमा गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयहरूमा कामकाजमा लगाई गाउँकार्यपालिकाबाट तलब भत्ता भुक्तानी दिई नेपाल सरकारलाई हानिनोक्सानी पुर्याएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४