जनकपुरधाम– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार संघीयता र लोकतन्त्र सिध्याउने षडयन्त्रमा लागेको आरोप लगाएका छन् ।
चीनको कम्युनिष्ट पार्टीको बाटोमा हिँड्न लागेको नेकपा नेपालबाट संघीयता, लोकतन्त्र र संसदीय व्यवस्था अन्त्य गर्ने खेलमा लागेको निधिको भनाइ छ ।
दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमअन्तर्गत सोमबार धनुषाको नगराईनमा आयोजित आमसभामा बोल्दै उपसभापति निधिले प्रश्न गरे, “संघीयता र लोकतन्त्र सिध्याउने खेल होइन भने नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको पथमा किन हिँड्न थालेको ?”
चीनमा लोकतन्त्र, संसदीय व्यवस्था र संघीयताको नरहेको भन्दै उनले थपे, “नेपालका कम्युनिष्टहरु आफू प्रशिक्षित हुन सीपीसी (कम्युनिष्ट पार्टी अफ चाइना) को विचार आयात गर्दैछन्, नेकपाका नेताहरुलाई प्रशिक्षण दिन चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख आउँदैछन् । यो सब के हो?।”
सोमबारदेखि नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारात्मक अन्तरक्रिया हुँदैछ। चिनियाँ कम्युनिष्ट पार्टीको आयोजनामा हुन लागेको यो अन्तरकृया नेकपाको स्कुल विभाग र विदेश विभाग सहआयोजक छ। निधिले यसैतर्फ संकेत गरेका हुन् ।
यो हजारौं नेपाली नागरिकको त्याग र बलिदानबाट आएको संघीय प्रणाली सिध्याउने खेत त होइन भन्दै उनले कम्युनिस्ट नेताहरुले जवाफ दिनुपर्ने बताए ।
संघीयता र संविधानमाथि अरु कोही भन्दा पनि सरकारबाटै खतरा रहेको निधिको आरोप छ ।
संघीय सरकारले संविधान बमोजिमको अधिकार पनि प्रदेशलाई दिन नचाहनु समेत संघीयतामाथिको प्रहार भएको बताए ।
“संविधानमा प्रदेश र स्थानीय तहका अधिकारबारे स्पष्ट उल्लेख छ,” उनले भने, “तर केन्द्रीकृत मानसिकता त्याग्न नसकेको संघीय सरकारले सबै अधिकार सिंहदरबारमै केन्द्रिकृत गरिरहेको छ ।”
सरकारले प्रस्ताव गरेको नागरिकतासम्बन्धी विधेयकमाथि समेत निधिले असन्तुष्टि पोखेका छन् । वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी पुरानो व्यवस्थामा कुनै हेरफेर भए कांग्रेस आन्दोलनमा उत्रिन बाध्य हुने उनको चेतावनी छ ।
उनले प्रदेश– २ सरकारसमेत भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै सत्तारोहणको दुई वर्ष पुग्नै लाग्दा पनि लालबाबु राउत नेतृत्वको सरकारले कुनै गतिलो काम गर्न नसकेको बताए ।
नेपालमा अब कुनै मधेशवादी पार्टी नरहेको समेत उनले बताए । “सबैले आ–आफ्नो दलको नामबाट मधेश हटाइसकेका छन्, साइनबोर्डमा समेत मधेश देखिंदैन,” उनले भने, “अब ‘आफूलाई मधेशवादी बनेर जनता ठग्ने काम बन्द गर्नुहोस् ।”
प्रदेश २ को नाम मिथिला–भोजपुरा र राजधानी जनकपुर हुनुपर्ने आफ्नो धारणा दोहराउँदै उनले त्यसो हुन नसके कांग्रेस आन्दोलनम उत्रिन बाध्य हुने बताए ।
निर्वाचन क्षेत्र नम्बर ३ (ख) का सभापति दिनेशचन्द्र दीपकको सभापतित्वमा सम्पत्र भएको आमसभामा केन्द्रीय प्रतिनिधि हरेश महतो, सुषमा तिवारी, धनुषा सभापति महेशशंकर गिरीलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४