शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बन्‍ने भयो नेपालकै पहिलो सुरुङ मार्ग, जापानी कम्पनीसँग सम्झौता 

बन्‍ने भयो नेपालकै पहिलो सुरुङ मार्ग, जापानी कम्पनीसँग सम्झौता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङ मार्ग बनाउन सोमबार सम्झौता भएको छ। ०७३ मै निर्माण सम्पन्न गरिसक्ने भनिएको २.७ किलोमिटर लामो यो सुरुङ मार्ग जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले निर्माण गर्न लागेको हो। 

सम्झौता पत्रमा नेपालका तर्फबाट सडक विभागको नेपाल विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापा र हाज्मा–आन्द्रो जेभीका प्रतिनिधि कियोसी हिरोसीले हस्ताक्षर गरेका छन्। निर्माण सुरू भएको ४२ महिनामा सक्ने भनिएको सुरुङमार्ग समयमै सकिए नेपालको पहिलो सडक सुरुङ मार्ग हुने छ।

०७५ साउन २४ मा सडक विभागको विकास सहायता समन्वय महाशाखाले सुरुङमार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुन लागेको यो आयोजनाका लागि पाँच चिनियाँ र एक जापानी कम्पनीले प्रस्ताव गरेका थिए।

 जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले करिब १६ अर्ब रुपैयाँमा सुरुङमार्ग निर्माण सम्झौता गरेको हो। मुआब्जा वितरणसहित आयोजनाको सम्पूर्ण खर्च भने करिब २२ अर्ब रुपैयाँ रहेको आयोजना प्रमुख श्याम खरेलले जानकारी दिए।

आयोजना निमार्णको लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोग हुनेछ। यसअघि नै जाइकासँग १६ अर्ब ऋण सम्झौता भइसकेको छ। 

सोमबार सम्झौता भए पनि निर्माण सुरू गर्न केही समय लाग्ने छ। ‘आयोजनाको काम सुरू हुनुपूर्व चार सर्त पूरा हुनुपर्छ, त्यसको लागि एक महिना लाग्न सक्छ, त्यसपछि निर्माण सुरू हुन्छ,’ खरेलले भने। उनका अनुसार निर्माण सुरू गर्न निर्माणको सम्झौता, आर्थिक स्रोत, आयोजना स्थलको उपलब्धता र मोबिलाइजेसन खर्च आवश्यक हुन्छ। अन्य सर्तहरू पूरा भए पनि आयोजना स्थल पूर्णरूपमा उपलब्ध नभइसकेकोले समय लाग्न सक्ने खरेलको भनाइ छ। धादिङतर्फको जग्गा समस्या समाधान गर्न एक महिना लाग्ने उनले बताए।

धादिङतर्फको जग्गा विवादका कारण निर्माण प्रकृया पछि धकेलिँदै आएको थियो। त्यहाँका स्थानीयले काठमाडौंतर्फकै मूल्यमा जग्गाको मुआब्जा माग गरेपछि जग्गा सम्झौता हुन सकेको थिएन। गत साउन २१ मा सरकारले प्रस्ताव गरेको दरमा नै स्थानीयले मुआब्जा लिन मानेपछि प्रकृया अघि बढेको थियो। मुआब्जा लिन माने पनि कतिपय जग्गाको लालपूर्जा नभएको र कुनै गुठीको जग्गा भएकाले मन्त्रिपरिषदले निर्णय गर्नुपर्दछ। 

आयोजनाले तोकेको शर्तअनुसार यो सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेंसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्ने हुन्छ । दहचोक–सिस्ने खोलासम्म सुरुङमार्गको लम्बाइ २.७ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुने महाशाखाले जानकारी दिएको छ। यो सुरुङमार्ग निर्माणपछि नागढुंगाबाट घुमेर जाने समयमा करिब १ घण्टा समय बचत हुनेछ। सुरुङमार्ग निर्माणपछि नागढुंगाबाट १० मिनेटमा नौबिसे पुग्न सकिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।