काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को दुई दिने संयुक्त विचार गोष्ठी सोमबार सुरु हुँदैछ।
काठमाडौंस्थित होटल याक एण्ड यतीमा हुने गोष्ठीको तयारी पुरा भएको नेकपाले जनाएको छ।
गोष्ठीमा कुन पक्षले के विषयमा बोल्ने भन्ने विषयको टुंगो पनि लागेको छ।
सोमबार दिउँसो १४ सदस्यीय चिनियाँ टोली नेपाल आउने छ। कम्युनिष्ट पार्टी अफ चाइनाका विदेश समन्वय विभाग प्रमुख सोङ ताओ नेतृत्व टोली नेपाल आउन लागेको हो।
चिनियाँ पक्षले तीनवटा विषयमा बोल्ने छ। सोही विषयसँग सम्बन्धित प्रस्तुति पनि रहनेछ।
चिनियाँ पक्षले सबभन्दा पहिले पार्टी अनुसशानको विषयमा प्रस्तुति दिनेछ। कम्युनिष्ट पार्टीभित्र अनुशासनको आवश्यकता र अनुशानको प्रभावका विषयमा चिनियाँ पक्षले नेकपाका नेताहरुलाई पढाउनेछन्।
नेपालका कम्युनिष्ट पार्टीहरुमा अनुशासनको कमी देखिएकोले अनुशासन सम्बन्धी विषय नेपाली कम्युनिष्टहरुका लागि महत्वपूर्ण हुने नेकपाका नेताहरुले बताएका छन्।
यसैगरी, सीपीसीको संगठन प्रणालीका विषयमा चिनियाँ पक्षको प्रस्तुति रहनेछ। कम्युनिष्टहरुलाई कसरी संगठित गर्ने? संगठन कसरी बलियो बनाउने विषयमा चिनियाँ पक्षको प्रस्तुति रहनेछ।
चिनियाँ पक्षको अन्तिम प्रस्तुति भने विकास निर्माणको मोडल बारे रहने जनाइएको छ। कम्युनिष्ट राज्यमा कसरी विकास गर्न सकिन्छ? कुन–कुन क्षेत्रलाई प्राथमिकता दिनु पर्छ र चीनको विकास मोडलबारे छलफल हुनेछ।
गोष्ठीमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट पनि तीन जनाको प्रस्तुति रहने नेता बेदुराम भुसालले बताए।
अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्कुल विभाग प्रमुख ईश्वर पोखरेल नेपालका तर्फबाट बोल्नेछन्।
प्रधानमन्त्री ओलीले भने उद्घाटन सत्रमै आफ्नो विचार र प्रस्तुति दिने छन्।
स्कुल विभाग प्रमुख पोखरेलले पार्टीको धारणा र नेपालका कम्युनिष्टहरुबीचको एकताका विषयमा प्रस्तुति दिने छन्।
विभिन्न कालखण्डमा टुटफुट भएका कम्युनिष्टहरु अहिले एकै ठाउँमा देखिएको र बलियो हुनुका कारणका विषयमा पोखरेलको प्रस्तुत हुनेछ।
मंगलबार भने अध्यक्ष प्रचण्डले आफ्नो प्रस्तुतिसहित कार्यक्रमको समापन गर्ने जनाइएको छ।
प्रचण्डले जनयुद्ध र शान्ति प्रक्रियालगायतका विषयमा प्रस्तुति दिनेछन्।
नेपालमा कम्युनिष्टहरुको बलियो सरकार भएको बेला चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारी स्वरुप यो गोष्ठी हुन लागेको बुझिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४