काठमाडौं- दसैंका लागि टिकट बुकिङ खुला भएको पहिलो दिनमै गोंगबुस्थित नयाँ बसपार्कमा टिकट काट्न आउनेको थामिनसक्नु भिड लागेको छ।
आइतबार बिहान ३/४ बजे देखि नै टिकट काट्नेको लाइन लागेको थियो । टिकट लिनका लागि करिव ५(६ घण्टा लाइन बस्नुपरेको यात्रुले गुनासो गरेका छन्।
धनगढीका प्रदीप चौधरीले बिहान ४ बजे नै टिकट काट्न लाइनमा बस्दा पौने ११ बजे पालो आएको बताए। एउटै व्यक्तिले ७–८ वटा टिकट काट्ने गरेकाले लाइनमा धेरै समय बस्नुपरेको उनले दुखेसो पोखे ।
महिला र पुरुषको छुट्टाछुट्टै लाइन नभएकाले नभएकाले टिकट काट्न असजिलो भएको अर्घाखाँचीकी सुनिता बस्नेतले सुनाइन् । केटाहरु लाइनमै धकेल्ने भएकाले महिलालाई अफ्ठेरो भएको उनको भनाइ छ ।
यस्तै, बसपार्कमा सहायता कक्ष पनि स्थापना गरिएको छ। सहायता कक्षमा यातायात व्यवस्था विभाग र प्रहरीका जुनियर अधिकृत र जवान गरी तीन जना बस्ने व्यवस्था पनि मिलाइएको छ । सहायता कक्षमा देशभरका सबै रूटको भाडादर राखिएको छ।
टिकट काट्ने राजधानीका १४ स्थानमा सहायता कक्ष राखिएको र तीन जनाको टोली टिकट काट्ने अवधिभर बस्ने यातायात व्यवस्था विभागकी शाखा अधिकृत शारदा पाण्डेयले बताइन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४