सुनसरी- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक अराजक गतिबिधि बढेको बताएका छन् ।
थारु समुदायको जितिया पर्वमा सहभागी हुन सुनसरी पुगेका उनले परिवर्तन खतरामा नपरे पनि अराजक गतिबिधि भने बढेको बताएका हुन् ।
उनले पत्रकार सम्मेलनमा भने- ‘अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन । तर अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो ।’ यसलाई नियन्त्रण गर्नका लागि सक्रिय बन्न उनले सरकारलाई सुझाव दिए ।
यस्तै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एक जुट हुनु पर्नेमा जोड दिए । उनले भ्रष्टाचारका विरुद्ध सरकार र पार्टी अगाडि बढिरहको दाबी समेत गरे ।
अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा सरकार र पार्टी दुबैको कामको समिक्षा गर्दै यसलाई नयाँ शीराबाट गति दिने बारे छलफल भइरहेको जानकारी गराए ।
पार्टीलाई एकतावद्ध गर्ने विकास निर्माणका कामलाई गति दिने विषयमा आफूहरु गम्भीर रहेको उनको भनाइ थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४