काठमाडौं- दसैंका लागि घर फर्किने यात्रुका लागि आजबाट बसको टिकट बुकिङ खुला भएको छ। यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीले लामो दूरीका यातायातको टिकट बुकिङ खुला गर्न लागेका हुन्।
नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले आजबाट टिकट बुकिङ खुला गरिएको जानकारी दिए। नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खोल्ने तयारी भएको उनको भनाइ छ।
नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, नागढुंगा, जगाती, लगनखेललगायतका टिकट काउन्टरबाट अग्रिम टिकट बुकिङ गर्न सकिनेछ।
दसैंमा करिब ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ। घर फर्किनेमा अधिकांशले सार्वजनिक यातायातकै प्रयोग गर्छन्।
टिकट बुकिङ खुले पनि यात्रु सहायता कक्ष भने असोज १० बाट मात्रै सञ्चालन हुनेछ।
बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रुले विभाग वा ट्राफिक प्रहरीमा उजुरी गर्न सक्ने विभागले जनाएको छ।
यस्तै, विभागले आफू जाने स्थानसम्मको भाडादरबारे जानकारी राखेर मात्रै टिकट काट्न अनुरोध गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४