काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
अन्नपूर्ण पोस्ट्ले २ सय ७६ यात्रु क्षमता रहेको वाइडबडी जहाज १८ जना यात्रु बोकेर जापान उडान भर्दै आएको विषयलाई मुख्य समाचार बनाएको छ ।
अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए। अहिलेसम्मको औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ। २ सय ७६ सिट क्षमताको वाडइबडी विमान अगस्ट ३१ मा त काठमाडौंबाट १८ जना बोकेर उडेको थियो ।
यस्तै प्रधानमन्त्री केपीशर्मा ओली आफ्नै सांसद्हरुसँग असन्तुष्ट बनेको विषयलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ । कर्णली प्रदेशको राजधानी सुर्खेतबाट डोल्पाको सदरमुकाम दुनैसम्मको दुरी २३५ किमि भएपनि त्यहा पुग्न ३ दिन लाग्ने गरेको विषयलाई पनि अन्नपूर्णले महत्वका साथ छापेको छ ।
कान्तिपुर दैनिकले भने सवारी दुर्घटनाको कारण भेटिए पनि समाधान नखोजिने गरेको विषयलाई मुख्य समाचार बनाएको छ । सवारी दुर्घटनामा दिनहुँ ७ जनाको मृत्यु हुने गरेपनि दुर्घटना रोक्न कुनै उपाय नअनाइएको समाचारमा उल्लेख छ ।
यस्तै कान्तिपुरले नै विद्यार्थीसँग लिएको बढि शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेज सहमत भएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ। गण्डकी मेडिकल कलेजमा भने विद्यार्थीहरुको आन्दोलन जारी छ।
नागरिक दैनिकले आन्तरिक विवादका कारण नेपाली कांग्रेसको संगठन भद्रगोल बनेको विषय र डेंगु संक्रमितको उपचारमा लापरबाही भएको विषयलाई प्राथमिकताका साथ छापेको छ।
आजको नयाँ पत्रिकाले भने अख्तियारका पूर्वप्रमुख आयुक्तदेखि चर्चित गायिकासम्म सम्पत्ति शुद्धीकरणको छानविनमा शीर्षकमा मुख्य समाचार लेखेको छ।
अख्तियारका पूर्व प्रमुख आयुक्त दीप वस्न्यात, पूर्वआयुक्त राजनारायण पाठक, गायिक आनी छोइङ डोल्मा, सबै मेडिकल कलेजका सञ्चालकसँग अस्वभाविक सम्पत्ति रहेको समाचारमा उल्लेख छ ।
अबैध रुपमा अकुत सम्पत्ति जोडेका २० हाइप्रोफाइल व्यक्तिको आयस्रोत सम्पत्ति शुद्धीकरण विभागले खोजिरोखेको जनाइएको छ । शक्ति केन्द्रको दबाब नआए केहि दिनमै नतिजा निकाल्नेगरि काम भइराखेको विभागका एक अधिकारीलाई उदृत गर्दै नयाँ पत्रिकाले लेखेको छ ।
‘रित्तै’ उड्नु छ जापान
अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार सुन्दा गर्वै लाग्छ- नेपाल एयरलाइन्स सीधै जापान उड्न थालेको छ। यसको व्यापारिक हालत भने पीडादायी छ। अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तै आउँछ।
अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए। अहिलेसम्मको औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ। २ सय ७६ सिट क्षमताको वाडइबडी विमान अगस्ट ३१ मा त काठमाडौंबाट १८ जना बोकेर उड्यो।
‘ओसाका सेक्टर अत्यधिक घाटाको उडान हो’, निगमका उच्च अधिकारीहरू भन्छन्, ‘भाडा, दूरी र खर्च हेर्दा यस रुटको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगे मात्र नाफामा जान्छ।’
लामो गन्तव्य नपाएर एक वर्ष अलमलिएको वाइडबडी ओसाका उडाउने तयारी भइरहेको थियो। निगम दिवस जुलाई १ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्टै भने, ‘उडाउनुपथ्र्यो नारिता, उडाउन खोजिँदैछ ओसाका।’
नारिता राजधानी टोकियोसँगैको विमानस्थल हो। त्यसभन्दा टाढाको सहर ओसाकाबाट नेपाल आउने र यताबाट त्यहाँ जाने यात्रु तुलनात्मक निकै कम हुन्छन्। यो जापानको क्षेत्रीय केन्द्र हो, जहाँ नेपालसँग हवाई व्यापार चम्किने कुनै साइनो छैन।
सवारी दुर्घटना : कारण भेटिन्छ, समाधान खोजिन्न
कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार मुलुकभर सवारी दुर्घटनाबाट दिनहुँ ७ जनाको मृत्यु हुने गरेको छ ।
गत आर्थिक वर्षमा मात्रै मुलुकभर १३ हजार ४२१ दुर्घटनामा २ हजार ७६२ जनाको मृत्यु भयो । प्रहरीको ट्राफिक निर्देशनालयका अनुसार तीमध्ये ९ हजार ९४० दुर्घटनाको कारण चालकको लापरबाही हो ।
पछिल्ला ८ वर्षमा काठमाडौं, भक्तपुर र ललितपुरमा ४६ हजार दुर्घटना भए । त्यसमा १ हजार २३६ जनाले ज्यान गुमाए । २ हजार १४५ जना गम्भीर र ३२ हजार ६९५ जना सामान्य घाइते भए । गत वर्षका ८ हजार सवारी दुर्घटनामा ५०८ जनाले ज्यान गुमाए । यसअनुसार उपत्यकामा मात्रै दुर्घटनाबाट दिनहुँ एकभन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।
०७०/७१ मा भएका ८ हजार ४०६ दुर्घटनामध्ये ६ हजार ५ र ०७१/७२ मा ९ हजार १४५ दुर्घटनामध्ये ६ हजार ६०९ मा चालकको लापरबाही कारण थियो । पछिल्लो ५ वर्षयता दुर्घटनाबाट बर्सेनि २ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा दुर्घटना हुनुको कारण के हो भन्नेसमेत विश्लेषण गरेको छ । त्यसमा चालकको लापरबाहीलाई पहिलो कारण देखाइएको छ । दुर्घटनाको कारण पत्ता लागे पनि सुधारको बाटो भने नअपनाइएकाे छैन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४